fbpx

अब सरकार नै ठेकेदार, पूर्वाधार निर्माणमा फेरी बन्यो सरकारी कम्पनी

काठमाडौं । सडक, पुल, भवनलगायत संरचना निर्माण गर्न सरकारले नै कम्पनी खडा गरेको छ । सरकारी निर्माण व्यवसायी कम्पनीका रुपमा नेपाल पूर्वाधार निर्माण कम्पनी स्थापना गरिएको हो ।

पूर्वाधार निर्माणमा निजी कम्पनीले ढिलासुस्ती गर्ने, गुणस्तरीय काम नगर्ने लगायतका समस्या बढ्न थालेपछि सरकारले नै पूर्वाधार निर्माण कम्पनी स्थापना गरेको हो । कम्पनीमा अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयलाई संस्थापक शेयर दिइएको छ ।

कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ र जारी एवं चुक्ता पूँजी ३ अर्ब छ । चारवटै मन्त्रालयले ७५÷७५ लाख कित्ता शेयर लिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कानून शाखा प्रमुख उपसचिव गोपीलाल नेपालले बताए । कम्पनीको प्रबन्धपत्र र नियमावली बनाएर मन्त्रिपरिषद्मा पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि गत असार २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ ।

संरचना निर्माणको क्षेत्रमा सम्भाव्यता अध्ययन, योजना, डिजाइन, निर्माण तथा व्यवस्थापनसम्बन्धी व्यवसाय सञ्चालन गर्ने उद्देश्यले कम्पनी स्थापना भएको उनले बताए । यसैगरी ठेक्का व्यवसाय सञ्चालन गर्ने, भवन, कारखाना, हवाइमार्ग, रेलमार्ग, ड्राइपोर्ट, लघु रेलमार्ग, पुल, सुरुङ, जल सुरुङ मार्ग, रोपवे, विमानस्थल, ह्याङ्गर, नहर, जहाजघाट, पानीट्याङ्की, पोखरी, सेतुबन्ध, बाँध, जलविद्युत् गृह लगायतका निर्माणको काम सरकारले नै गर्ने छ ।

गत आर्थिक वर्षको बजेटमा नै सरकारले आफ्नै पूर्वाधार कम्पनी बनाउने उल्लेख गरेको थियो । यो आर्थिक वर्षबाट नै कम्पनीले काम सुरु गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि पञ्चायतकालमा स्थापना गरिएको नेशनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसीसीएन) २०५८ सालमा विघटन गरिएको थियो । विघटन हुनुअघि एनसीसीएनले ठेक्का पाउन छोडेको कारण धराशायी भएको थियो । निजी कम्पनीले भन्दा घटीको ठेक्का नहालेका कारण एनसीसीएन घाटामा गएको हो ।

पञ्चायतकालको अन्त्यतिर एनसीसीएनलाई गुणस्तरहीन यन्त्र किनाएर संस्थान ओरालो लाग्ने वातावरण बनेको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछिका सरकारले निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति नियम बनाएपछि यो थप समस्यामा पर्दै गएको हो । कमिशनको खेलले पनि एनसीसीएनलाई डुबाएको त्यसबेला कार्यरत कर्मचारी बताउछन् । संस्थानका निर्माण यन्त्र अहिले पनि मलपोखरीमा राखिएको छ ।

Loading...