fbpx

शिक्षकको गैरजिम्मेवारीले सामुदायिक विद्यालयको पढाइ दयनीय

jrn
यज्ञ अधिकारी

शिक्षा अध्यारो चिर्नेे किरण हो । स्वयमसँग परिचय गराउने क्षमता शिक्षामा हुन्छ । उज्यालोतर्फ डोहोर्याउने ज्योतिमय गोरेटो हो, शिक्षा । जीवन मार्ग शिक्षाले देखाउँछ । बाँच्ने कला हो, शिक्षा । अन्धकारमा बाँचेकोे मानिसले उज्यालो संसार देख्छ । शिक्षा समाज नियाल्ने झ्याल हो । जसले सम्मुनत समाज निर्माणको ज्ञान दिन्छ । संसार बदल्ने सुरुवात आफैंबाट गर्न शिक्षाले सिकाउँछ । मानव जीवनलाई नै सार्थक बनाउने शिक्षा प्रणाली नेपालमा किन कमजोर छ ?

हाम्रो शिक्षा नतङ्ग्रिनुको कारण के हो ? शिक्षालयको काम बालबालिकालाई अक्षर चिनाउने मात्र भएको छ । के गर्नु ? अक्षर चिनेर जीवन चल्दैन । बाँच्नलाई फेरि अर्को धन्दा थाल्नु बाध्यता छ । शिक्षा आर्जनमा खर्चेको समयको के अर्थ ? खर्च उस्तै । विरक्त अवस्था छ ! नेपालको शिक्षाबाट विद्यार्थी भविष्यप्रति प्रष्ट हुनै सक्दैनन् । नेपालको सामुदायिक शिक्षालयको शिक्षा धुमिल, अन्यौल र दोधारे बनाउने खालको छ । हामी कस्तो शिक्षालय सञ्चालन गरिरहेका छौँ ? जहाबाट अन्योलग्रस्त जनशक्ति उत्पादन भइरहेको छ । सामुदायिक विद्यालयको शिक्षा प्रयोग नहुने खोटो जस्तो भएको छ । सामुदायिक विद्यालयबाट दिक्षीत विद्यार्थी आफ्नो भाग्यमा खोट लाउँछन् । खोटी भाग्य ठानेर श्रमिक भएर मजदूरी गर्छन् । यस्तो बिडम्बना खेप्ने धेरै पुस्ता भइसके । यद्यपि, सामुदायिक विद्यालयको सुधारमा ध्यान गएको छैन । गाउँमा यो झनै भयाभह अवस्था छ ।

नेपालका ८० प्रतिशत बालबालिकाले  सामुदायिक विद्यालयमा अक्षर चिन्छन् । जुन विद्यालय आफैँ नाजुक अवस्थामा छन् । नेपालको शिक्षण विधिअनुसार त्यहिँका ८० प्रतिशतभन्दा बढी बालबालिका असफल हुन्छन् । यो असफलता विद्यार्थीको मात्र होइन । राज्यको हो । अविभावकको हो । व्यवस्थापन समितिको हो । यो विफलताको सबैभन्दा बढी भागीदार शिक्षक हुन् ।

गाउँका बालबालिकाले शिक्षा आर्जन सामुदायिक विद्यालयबाट गर्छन् । गाउँले सामुदायिक विद्यालयबाट ५० वर्ष अगाडीकै जस्ता विद्यार्थी आज पनि तयार भइरहेका छन् । गाउँको पठनपाठनमा परिवर्तन भएको छैन । शिक्षकलाई मतलब छैन । विद्यालय हाजिर गरेर महिना मार्ने थलो ठान्छन् । आफ्नै नियति फेरि बालबालीकामा दोहोरिँदा शिक्षक हेरेर बसेको छ । गाउँका सामुदायिक विद्यालयले अन्धकार भविष्य बोकेका बालबालिका उत्पादन गरिरहेको छ । शिक्षक तलब पकाउनमै मस्त छन् । शिक्षण सेवा हुन सकेन । पेसाको रुपमा मात्र रह्यो । शिक्षण धेरै अबोध बालबालिकाको भविष्यसँग जोडिएको विषय हो । उज्यालो दिने काम हो । देश निर्माण गर्ने सशक्त जनशक्ति उत्पान गर्नु पर्ने काम हो । जसको मुख्यकर्ता शिक्षक हुन् । गाउँका सामुदायिक विद्यालयमा महसूस गर्न पाइँदैन । बरु हल्लिएर समय कटाउने थलो बन्यो गाउँका शिक्षालय । शिक्षकलाई तलब थाप्न पाए पुग्छ । सामुदायिकका शिक्षकहरु विद्यार्थीको दायित्व लिँदैनन् । बरु पार्टीको लिन्छन् । गाउँमा पढाउने शिक्षक पैसाको लागि मात्र विद्यालय पुग्छन् ।

शिक्षक र विद्यार्थीबीचको दूरी घटन सकेको छैन । खाडल बढ्दो छ । विद्यार्थीले शिक्षकलाई आफ्नो ठान्दैनन् । शिक्षकको व्यवहारले विद्यार्थी टाढिन्छन् । सामुदायिक विद्यालयका बालबालिका आफ्ना शिक्षकहरुलाई शत्रु सम्झन्छन् । उनीहरु शिक्षक कक्षा कोठामा नआए हुन्थ्यो भन्ने सोच्छन् । यस्तो सोच्ने धेरै पुस्ता भएपनि यद्यपि कायमै रहेको छ । शिक्षकले आफ्नो शिक्षणशैली परिवर्तन नगरेको कारणले पनि यस्तो अवस्था बनेको हो ।

अर्कौतिर शिक्षण शैली एकतर्फी र निरस छ । शिक्षकहरुले यसबारे निदान खोजेको पाइँदैन । किन आफूलाई विद्यार्थीले रुचाएनन् ? शिक्षकलाई मतलब छैन । विद्यार्थी टाढै भएको निको मान्छन् । हाजिरप्रति उत्प्रेरित ग्रामीण शिक्षक विद्यार्थी बोझ र घाँडो सम्झन्छन् । विद्यार्थी आकर्षित हुने शिक्षण गरेको पाइँदैन । बरु, विद्यार्थीबाट पर भागेको पाइन्छ । जसले विद्यार्थीको भविष्य र समय उपयोगी हुन सकेको छैन । केही अपवाद शिक्षक छन् । अपवादले लाखौँ बालबालिको भविष्य अन्धकारबाट बच्न सक्दैन । शिक्षकको निरस व्यवहार र पठनले गाउँका सामुदायिक विद्यालयका बालबालिका पढाइबाट उक्ताउँदै छन् । विद्यालय छाड्ने विद्यार्थीको संख्याले प्रष्ट पार्छ ।

यातायातको विकास र विस्तारसँगै गाउँका सामुदायिक विद्यालयमा अर्को बिडम्बना थपिएको छ । विद्यालय आसपास कुनै पनि शिक्षक भेट्न सकिँदैन । तराइमा बढी छ, यो समस्या । विद्यालय समय अघि–पछि विद्यार्थीले शिक्षक भेटन पाउँदैनन् । अधिकांश शिक्षकको थातथलो शहरमा छ । शिक्षक गाउँ बस्दैनन् । सबै शहर चाहन्छन् । गाउँका सामुदायिक विद्यालयका शिक्षक दैनिक एकतर्फी २५ देखि ३० किलोमिटरको यात्रा तय गर्छन् । यो उनीहरुको शहर मोहले सम्भव भएको हो । विद्यार्थीको भविष्यप्रति चिन्तीत भएर होइन । शिक्षक शहरबाट धाउँछन् । विद्यालय पुग्दा थाकिसकेका हुन्छ । विद्यालयमा हाजिर भ्याएर घर फर्कने ध्याउन्नमा हुन्छन् । जहाँ प्रभावकारी शिक्षणको गुञ्जायस रहँदैन । ध्यान शहरको घरमा भएकाले कसरी पढाउन सक्छन् ? यातायातको सुबिधा भएका अधिकांश गाँउका शिक्षकहरु शहरबाटै विद्यालय धाउँछन् । गाउँका विद्यालय र विद्यार्थीप्रति अपनत्व कहाँ हुन्छ ? शहर धाउने शिक्षक समाजप्रति कुनै उत्तरदायी हुनु पर्दैन । विद्यालय छेउको समाजबाट टाढै रहेका हुन्छ । समाजले प्रश्न गर्ने चिन्ता पनि हुँदैन ।

सरकार र दातृ निकायको ठूलो खर्च छ । शिक्षक उदासिन हुँदा लगानीको प्रतिफल शून्यबराबर छ । सामुदायिक विद्यालय बालबालिका साक्षर बनाउनमा सीमित छ । शिक्षकले आफ्नो पेशालाई रचनात्मक र व्यवहारिक नबनाउँदा विद्यार्थी शिक्षालाई सजाय ठान्छन् । बालबालिका किन पढिरहेको छु सम्म बुझन सक्दैनन् । लामो समय खर्चेर आर्जन गरेको ज्ञानमा तुक नहुँदा विदेशमा श्रमिक बन्न जान्छन् ।

शिक्षामा दायित्व कसको हो ? प्रयास कसबाट हुनु पथ्र्यो ? शिक्षा क्षेत्रको बेथितिमाथि धेरै प्रश्न खडा हुन्छन् । धेरै कम प्रयास भएका छन् । ठूलो लगानीका बाबजुद प्रतिफल आउन सकेको छैन । शिक्षकको हतोत्साहित मानसिकताले बालबालिकामा शिक्षाप्रति रुचि हराउँदै गएको छ । बालबालिकालाई शिक्षामा आकर्षित गर्न सक्ने अग्रभागमा विद्यालयका शिक्षक नै हुन् । जुन प्रभावकारी हुन सकेको छैन । शिक्षकको व्यवहारले निजीमा विद्यार्थीको चाप थामि नसक्नु छ ।

Loading...