fbpx

‘घमण्डी रोनाल्डो, जो डेभिड बेकह्याम जस्तो सफल हुन सकेनन्’

एजेन्सी,
इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी तथा लिजेन्ड डिएगो फोर्लानले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो ‘घमण्डी’ खेलाडी भएको बताएका छन् । ब्रिटिश मिडिया मिर्ररलाई हालै दिएको एक अन्तर्वार्ताका क्रममा फोर्लानले यस्तो बताएका हुन् ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डो र फोर्लानले युनाइटेडमा एक वर्ष एक साथ खेलेका थिए । रोनाल्डो स्पोर्टिङ सिपीबाट सन् २००३ मा युनाइटेड आएका थिए भने फोर्लान सन् २००२ बाट युनाइटेडमा आवद्ध थिए । यता, फोर्लान् सन् २००४ मा नै युनाइटेड छोडेर भिल्लारियल गए । तर, रोनाल्डोले युनाइटेडमा ६ वर्ष बिताए । उनले सन् २००९ सम्म युनाइटेडमा खेले र स्पेनिस क्लब रियल मड्रिडमा गएका थिए ।

एक वर्ष मात्र रोनाल्डोसँग एकसाथ खेलेका फोर्लानले रोनाल्डो घमण्डी खेलाडी भएको बताएका हुन् । रोनाल्डो ओल्ड ट्राफोल्डमा रहँदा धेरै घमण्डी रहेको फोर्लानले सो अन्तर्वार्तामा बताएका हुन् । उनले भनेका छन्, ‘युनाइटेडको ड्रेसिङ रुमभित्र रोनाल्डो घमण्डी थिए । उनी सधैँ ऐनाको नजिक बस्न चाहान्थे ।’

यद्यपि, फोर्लानले रोनाल्डोको व्यवहार खेल मैदानमा त्यस्तो नरहेको उल्लेख गरेका छन् । उनले रोनाल्डोलाई डेभिड बेकह्यामसँग तुलना गर्दै भनेका छन्, ‘रोनाल्डो ड्रेसिङ रुमभित्र घमण्डी थिए, तर, बेकह्याम त्यस्ता थिएनन् । रोनाल्डो सधैँ ऐनाको नजिक रहेर दिनभरि ऐना हेर्दै दिन बिताइदिन्थे ।’

युनाइटेड, भिल्लारियल, एथ्लेटिको मड्रिड र इन्टर मिलान जस्ता बलिया टोलीबाट खेलिसकेका उनले भने, ‘रोनाल्डोले युनाइटेडलाई उद्धार गरी स्पेन गए र त्यहाँ पनि सफलता पाए । तर, त्यसपछि इटाली आएका उनी बेकह्याम जत्तिको सफल हुन सकेनन् ।’

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डाले सन् २००९ मा स्पेन गएका थिए । उनले स्पेनमा ९ वर्ष बिताएका थिए । जहाँबाट सर्वाधिक लोकप्रिय खेलाडी बनेका उनी सन् २०१८ मा इटालियन क्लब युभेन्टस आएका हुन् । आएकै वर्ष सिरी ‘ए’ र सुपर कोपा इटालिया जितेका उनी बेकह्याम जत्तिको सफल हुन नसकेको फोर्लानको भनाइ छ ।

डेभिड बेकह्याम चार फरक देशबाट खेलेका सफल खेलाडी हुन् । उनले इंग्ल्याण्डमा युनाइटेडबाट, स्पेनमा रियलबाट, इटालीमा एसी मिलानबाट र फ्रान्समा पेरिस सेन्ट जर्मेनबाट खेलेका छन् । उनले सन् १९९२ बाट २००३ सम्म युनाइटेडमा बिताए भने सन् २००३ बाट २००७ सम्म मड्रिडमा बिताए । यस्तै सन् २००२ मा लोनमा मिलान गएका उनले सन् २०१३ मा पीएसजीबाट खेलेका थिए ।

Loading...