fbpx

ओसीएमसीले यौनहिंसा पीडितहरूको कानूनी जाँच र उपचारमा सहजता

अंकिता ताम्राकार
विराटनगर,
विराटनगरस्थित कोशी अस्पतालमा ओसिएमसी स्थापना भएपछि यौन र लैगिक हिंसा पीडित महिला पुरुष र बालबालिकाहरुको कानूनी जाँच र उपचारमा सहजता आएको छ । २०७४ देखि विराटनगरस्तिथ कोशी अञ्चल अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी, अर्थात् वान स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर) स्थापना भएपछि यौन र लैंगिक हिंसामा परेका महिला, पुरुष र बालबालिकाहरुको कानूनी जाँच र उपचारमा सहजता आएको हो ।

अस्पताल प्रशासनका अनुसार नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हिंसामा परेका व्यक्तिहरुलाई एकै द्वारबाट न्याय तथा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले दुई वर्षअघि अस्पतालमा ओसिएमसी केन्द्रको स्थापना गराएको हो ।

यौन र लैगिक हिंसामा परेका महिला, पुरुष र बालबालिकाहरुले ओसिएमसीबाट लैंगिक हिंसा, अल्पकालीन आवास, कानुनी प्रमाणका लागि विधि–विज्ञान जाँच र चोटपटकको उपचार, गर्भ निरोधक, सुरक्षित गर्भपतन, यौनजन्य संक्रमणको जाँच र उपचार आदि सेवा निःशुल्क पाउने गर्दछन् । साथै पीडितहरुलाई आवश्यक परामर्श र मानसिक स्वास्थ्य उपचारहरु पनि निःशुल्क प्रदान गर्ने गरेको ओसीएमसी वार्डकी स्टाफ नर्स अम्बिका महताराले बताइन् । उनका अनुसार ओसिएमसीमा आउने पीडितहरुको प्रहरीबाट विशेष सुरक्षा सतर्कता अपनाउने गरिन्छ ।

ओसीएमसी वार्डकी स्टाफनर्स अम्बिका महतारा

अस्पतालमा ओसिएमसी स्थापना भएपछि हरेक महिना औसतमा लैंगिक हिंसामा परेका २२ देखि २५ जना पीडितहरुको निःशुल्क उपचार हुँदै आएको छ । पीडितहरुलाई कुनै पनि उपचारमा झन्झट नहोस् भनेर अस्पतालमा एकद्वार संकट व्यवस्थापन समिति निर्माण गरिएको छ । जसले पीडितहरुको सबै सेवाको प्रक्रियामा सहजीकरण गरिदिनुका साथै अवस्था हेरेर विभिन्न कार्यालयमार्फत निःशुल्क कानूनी र परामर्श सेवा पनि उपलब्ध गराउने गरिएको छ ।

ओसिएमसी सञ्चालनमा आएपछि पीडितहरुले अस्पतालबाट कुनै पनि भेदभावबिना ओपीडी, एक्स रे, इमर्जेन्सी, औषधि लिनेलगायतका सेवा निःशुल्क पाउन निकै सहज भएको स्टाफनर्स महतारा बताउँछिन् । तर, अझै ओसिएमसीको सेवाबारे सबैलाई जानकारी नभएकाले सबै पीडितहरु सेवा लिन आइपुग्ने गरेका छैनन् ।

ओसीएमसीले बालबालिका, किशोरी तथा महिलाहरुले भोग्नु परेको बलात्कार, यौन दुर्व्यवहार, शारीरिक तथा मानसिक दुर्व्यवहार, जबर्जस्ती विवाह तथा श्रोतसाधन र पाउनु पर्ने अधिकारहरुबाट बञ्चित, बोक्सीको आरोप लागेका पीडितलाई उपचारमा सहयोग गर्ने गरेको छ । विशेषगरी विभिन्न प्रहरी कार्यालय र सामाजिक संस्थामा न्याय माग्न र परामर्श लिन आएका पीडितहरुलाई उनीहरुको सांकेतिक नामको प्रयोग गरी ओसीएमसीमार्फत् जाँच गराइन्छ । ओसिएमसीले हिंसाबाट पीडित महिला तथा बालबालिकाहरुलाई विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा घर निकाला गरेमा बस्नका लागि सुरक्षित आवासको सेवासमेत प्रदान गर्दै आएको छ ।

ओसिएमसीले हिंसाका कारण गर्भावस्थामा जटिलता आएमा, नचाहेको गर्भ बसेमा, असुरक्षित गर्भपतन गराउनुपर्ने बाध्यता आएमा, नवजात शिशु तथा बालबालिकाको अकालमा मृत्यु भएमा कम तौलको शिशुको जन्मिएमा, पाठेघरको समस्या देखा परेमा, यौन रोगहरुल निराशा उत्पन्न गराएमा आदि अनेक कारणहरुले पीडित महिलाहरुलाई उपचार परामर्श सेवा प्रदान गर्ने गरेको छ ।

Loading...