fbpx

अस्वस्थ जीवनशैली एसिडिटीको मुख्य कारण

विराटनगर,
व्यस्त जीवन शैली, अस्वस्थ्य खानपान, ब्यायामको कमीका कारण पनि धेरैजसो नेपालीहरुलाई एसिडिटीको समस्या हुने गरेको छ । एसिडिटी विशेषगरी अस्वस्थ्य र अव्यवस्थित खानपानसित सम्बन्धित समस्या हो ।

पेटमा एसिडको मात्रा बढी हुँदा एसिडिटी हुने गर्छ । अव्यवस्थित समयमा खाने, घरमा बनको भन्दा बाहिरको धेरै खाने, खानपानमा ध्यान नदिने, शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली नै एसिडिटीका मुख्य कारण हुन् । एसिडिटी भएकाहरुलाई सामान्यत पेट दुख्ने, पोल्ने, छाती पोल्ने गरेको देखिन्छ ।्

आजकल मानिसहरु ब्यस्त भएका कारणले समयमा खान सक्दैनन्, र एसिडिटी हुन्छ । अनि समय पाएको बेलामा एकै पटक धेरै मात्रामा खाने गर्छन् । बढी मात्रामा भोजन गर्नाले अपचको समस्या उत्पन्न भइ एसिडिटी हुने गर्छ । त्यसबाहेक, चिल्लो, अमिलो, पिरो, तारेको, पोलेको लगायतका अत्याधिक मसलाको प्रयोग गरिएको खानाको सेवनले एसिडिटीको समस्या उत्पन्न हुने गर्छ ।

एसिडिटी हुनुको मुख्य कारण भनेको शरीरको आवश्यक्ता अनुसारको पानी नपिउनु हो । शरीरमा पानीको कमी भएर एसिडिटी हुने गर्छ । दैनिक अत्याधिक मात्रामा धूम्रमान, मादकपदार्थ तथा लागूऔषधिको सेवनले शरीरमा एसिडिटीको समस्या उत्पन्न गराउन ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै, बासी खाना, दूध हालेको चिया, कफीले र खाना खानसाथ सुत्नाले पनि एसिडिटीको समस्या बढाउने गर्छ ।

वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, भोक हराउने, खाना नपच्ने, वान्तामा रगत देखिने, कालो दिसा आउने, तौल कम हुने, छाती र पेटको बीचको भाग दुख्ने, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि लक्षण देखा पर्नु नै एसिडिटी हो भनेर बुझिन्छ । एसिडिटीलाई सामान्य मान्नु हुँदैन, यसले स्वास्थ्यमा दीर्घकालीन असर र्पुयाउन सक्छ । एसिडिटीबाट बच्नका लागि विशेष गरेर खानपानमा र ब्यायाममा ध्यान पुर्याउनुका साथै खाना खाने समय, पानीको मात्रा पनि हेर्नु पर्छ ।

दैनिक हरियो सागसब्जी, मौसम अनुसारको फलफूल र नरम खानेकुरा खाएर सकभर पेट खाली नराखी हरेक २–३ घण्टामा खाइराख्नु पर्छ । पानी पनि प्रशस्त मात्रामा पिउने गर्नु पर्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले एसिडिटी अलि कम हुन सक्छ । उठ्नेबित्तिकै जुसको सेवन गर्दा पेटमा ग्यास भरिन जान्छ । त्यसैले जुसभन्दा पनि पानी पिउने गर्नु पर्छ । एसिडिटीबाट बच्नका लागि बढी चिल्लो, अमिलो र पिरो तथा जंकफुड नखानु नै हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ ।

क्याफिन धेरै भएको चिया तथा कफी, धूम्रपान, मध्यपान र सूर्तीजन्य पदार्थको सेवनको त्याग गर्नु पर्छ । साथै दुखाइ कम गर्ने, प्रेसर कम गर्ने र बाथरोगको औषधिबाट एसिडिटी हुने सम्भावना धेरै हुने भएकाले नचाहिकन डाक्टरको सल्लाहबिना यस्ता औषधिको प्रयोग गर्नु हुँदैन । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले एसिडिटी बढाउन सक्ने भएकाले यस्तो कुरामा पनि निकै सचेत हुनु आवश्यक देखिन्छ ।

Loading...