fbpx

आत्महत्या गर्न बाध्य पार्नेलाई दुरुत्साहन मुद्दा लगाउँदै मोरङ प्रहरी

—कुनै पनि प्रकारले कसैले कसैलाई शारिरीक, मानसिक यातना दिएकै कारणले आत्महत्या गरेमा आत्महत्या गर्न बाध्य पार्नेलाई पनि प्रहरीले पक्राउ गरेर कानूनी सजाय दिलाउन थालेको छ ।

—१ भदौ २०७५ देखि लागू भएको फौजदारी अपराधसंहिता २०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार आत्महत्या गर्न बाध्य पारेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

—मोरङ प्रहरीले चालु वर्षमा आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक महिलासहित दुई जना पुरुषविरुद्ध अदालतमा दुरुत्साहन गरेको आरोपमा मुद्दा दर्ता गराएको छ । जसमध्ये पुरुषलाई आत्महत्या गर्न बाध्य पार्ने एक महिला पूर्पक्षका लागि जेल गएकी छन् । दुई महिलालाई आत्महत्या गर्न बाध्य पार्ने दुई पुरुषमध्ये एक जना पुरुष अभियुक्त धरौटीमा छाडिएका छन् । एक जना फरार छन् ।

घटना १

११ चैत २०७५ मा मोरङ सुन्दरहरैंचा १ का प्रेम राई झुण्डिएको अवस्थामा मृत भेटिए । प्रेमिका सञ्जु विश्वकर्मा आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुई महिनादेखि थुनामा छिन् । श्रीमती बिमलाले परिस्थितिजन्य आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा किटानी जाहेरी दिएपछि अदालतले सञ्जुलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश दिएको हो ।

सुनसरीको इटहरीमा खसी काटेर मासु बेच्ने पसल चलाउँदै आएका प्रेम राईको छोरीसहित डेरामा बस्दै आएकी सञ्जुसँग करिब चार वर्षअघि चिनजान भयो । उनीहरुबीच भेटघाट र शारीरिक सम्बन्धसमेत हुन थाल्यो । त्यसबीचमा प्रेमले सञ्जुलाई केही रकमपनि सहयोग गरे । अभियोगपत्रमा करिब २२ लाख सञ्जुलाई दिएको उल्लेख छ ।

सुन्दरहरैंचा–१ स्थित सञ्जुकी दिदी मञ्जुको घरमा प्रेम राईले झुण्डिएर आत्महत्या गरेका थिए । त्यस दिन सञ्जु जग्गा कारोवारको शिलशिलामा उर्लाबारी गएकी थिइन् । दिउँसो प्रेमले गरेको फोन उनले उठाइनन् । साँझ उनी मञ्जुको घर पुगे र फोन किन नउठाएको भनेर सञ्जुसँग सामान्य झगडा गरे । केहीबेरमै झगडा मिल्यो । साँझसँंगै बसे । सञ्जुले बियर पिइन प्रेमले रेडबुल खाए । श्रीमान्–श्रीमती नभएपनि उनीहरुबीचको सम्बन्ध सञ्जुको माइतीमा खुल्लैजस्तो थियो । उनीहरु एउटै कोठामा सुते ।

‘दिउँसोको कुरालाई लिएर प्रेमले निहुँ खोजे र कपाल समातेर जगल्ट्याए’ सञ्जुले बयानमा भनेकी छिन्, ‘त्यसपछि म हुत्तिएर अगाडि पुगें एउटा पन्यूँ भेटें त्यसैले हिर्काएँ, टाउको फुटेछ । त्यसपछि हामीलाई छुट्याएर छुट्टाछुट्टै कोठामा सुताउनु भयो ।’ त्यही राति प्रेमले सलको पासो लगाएर मञ्जुकै घरमा आत्महत्या गरेछन् ।

पन्यूँले हान्दा टाउको फुटेको प्रेमको रगत सफासमेत नगरेको र उपचारको प्रबन्धसमेत नगरेको अवस्थामा आत्महत्याका लागि दुरुत्साहन नभएको भन्ने अवस्था नदेखिएको भन्दै जिल्ला अदालत मोरङले सञ्जुको दुरुत्साहन कै कारण भएको भन्ने प्रेमकी श्रीमती बिमलाको मागदावीअनुसार नै थुनामा राखेर पूर्पक्ष गर्न आदेश दियो । अहिले पनि मुद्दा अदालती प्रकृयामै छ । आदेश बदरको माग गर्दै सञ्जुले उच्चअदालतमा निवेदन दिएकी छन् ।

घटना २

७ असोज २०७५ मा १९ वर्षीया ऐश्वर्य आचार्यले झुण्डिएर आत्महत्या गरिन् । मोरङ रंगेली–८ दर्वेशाका ढकप्रसाद आचार्यले छोरीको आत्महत्या स्थानीय विशाल दाहालको दुरुत्साहनका कारण भएको भन्दै जाहेरी दिए । अदालतले दाहालसँग ५० हजार धरौटी लिएर पूर्पक्ष गर्न आदेश दियो । दाहाल धरौटीमा रिहा भए । मुद्दा अझै अदालतमा विचाराधीन छ ।

विशाल दाहाल ऐश्वर्या आचार्यका शिक्षक हुन् । कक्षा ९ मा आचार्यलाई दाहालले नै पढाएका थिए । त्यसबेलादेखि नै उनीहरुबीच कुराकानी हुने गरेको रहेछ । जाहेरीमा बाबु ढकप्रसादले दाहाल र आचार्यबीच शारीरिक सम्बन्ध पनि भएको दाबी गरेका छन् तर २९ वर्षीय विशालले भने बयानमा आरोप अस्वीकार गरेका छन् ।

ऐश्वर्याले असोज ७ गते विशाललाई पटक–पटक फोन गरिन् । उनले फोन उठाएनन् । उठाएको बेलामा पनि यौनजन्य कुराहरुमात्र गरे । त्यसअघि उनीहरुबीच सामाजिक सञ्जालमा धेरै कुराकानी हुने गरेको भएपनि पछिल्लो समयमा विशालले सञ्जाल बन्द गरेका थिए । त्यसबाट ऐश्वर्यालाई मानसिक तनाव भएको दाबी गरिएको छ । ‘फोन नउठाउँने, उठाउँदा यौनका कुरा गर्ने र विशालले अरु केटीसँग खिचेको तस्बिर पोष्ट गर्ने गर्दा रहेछन्,’ बाबु ढकप्रसादले जाहेरीमा भनेका छन्, ‘ति घटनाहरुबाट मेरी छोरीलाई शारीरिक र मानसिक यातना भयो र आत्महत्या गर्न बाध्य बनाइयो ।’

अदालतले २०७६ जेठ २७ गतेको थुनछेक बहसपछि ‘बारम्बार म्यासेज वा सम्पर्क गर्दा पनि जवाफ दिएको नदेखिँदा निजहरुबीचमा विशेष सम्बन्ध रहको देखिन्छ । त्यसैले विशाललाई निर्दोष भन्न सकिएन, पछि प्राप्तहुने प्रमाणका आधारमा हुने गरी ५० हजार नगद धरौटी लिइ पूर्पक्ष गर्नु भनि आदेश दिएको छ । आदेशअनुसार विशाल धरौटीमा रिहा भएका छन् । अभियुक्त विशालले अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका छन् ।

दुरुत्साहन गर्नेलाई धमाधम मुद्दा लगाउँदै मोरङ प्रहरी

मोरङमा प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरुलाई दुरुत्साहन मुद्दा लगाउन थालेको छ । असन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि मोरङ प्रहरीले आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराधसंहिताअनुसार दुरुत्साहन मुद्दा लगाउन थालेको हो ।

मोरङ प्रहरीले नयाँफौजदारी अपराधसंहिता जारी भएपछि चालु वर्षमा ३ वटा आत्महत्या गर्न बाध्य पारेको आरोपमा दुरुत्साहन मुद्दा मोरङ जिल्ला अदालतमा दर्ता गराइसेको छ । जसमा एउटा मुद्दामा एक पुरुष अभियुक्त धरौटीमा छाडिएका छन् भने एक पुरुष अभियुक्त फरार छन् । एक जना महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गराएर अनुसन्धान गरिरहेको छ ।

१ भदौ २०७५ देखि लागू भएको फौजदारी अपराधसंहिता २०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुनेगरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिइएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसैले आत्महत्या दुरुत्साहन अपराध हो

आत्महत्या जघन्य अपराध हो । आर्थिक, सामाजिक र शारिरीक अनेक कारणहरुले गर्दा मानिसले बिरक्तिएर आत्महत्या गर्दछन् । तर, केही आत्महत्याहरुमा बाध्य पार्ने मानिसहरु पनि जिम्मेवार हुन्छन् । यसैले आत्महत्याका घटनाको मुचुल्का सुक्ष्मरुपले तैयार गर्दा बाध्य पारेको पाइएमा प्रमाणसहित आरोपीहरुलाई पक्राउ गरेर मुद्दा दुरुत्साहन मुद्दा दर्ता गराउन थालेको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनले भने, ‘अब कानून बनिसकेकोले कसैले शरिरीक तथा मानसिक यातना दिएर, यौन र आर्थिक शोषण वा ब्लाकमेलिङ गरेर वा बन्धक बनाएर आत्महत्या गर्न बाध्य बनाउनेहरु उन्मुक्ति पाउन सक्दैनन् ।’

प्रत्यक्ष वा अप्रत्यक्ष अरुबाट पटक–पटक पाएको शारिरीक र मानसिक यातनाबाट मानिसहरुले आत्महत्या गर्ने गरेका घटना न्यूनिकरण गर्न आत्महत्या गर्न बाध्य पार्नेलाई पनि सजाय दिने कानून निर्माण गरी चालु वर्षदेखि सजाय दिलाउन सुरु गरिएको हो । कानून अभावमा आत्महत्या गर्न बाध्य बनाउनेहरुले सहज उन्मुक्ति पाउँदै आएका थिए ।

Loading...