fbpx

युइएफए दि बेस्ट प्लेयरमा रोनाल्डो र भान डाइकभन्दा अगाडि मेस्सी !

एजेन्सी,
युरोपियन फुटबलको सर्वाेच्च संस्थाले युइएफएले ‘युइएफए दि बेस्ट प्लेयर’को घोषणा आउँदो २९ तारिखमा गर्दैछ । मोनाकोमा हुने उक्त अवार्ड कार्यक्रमका लागि तीन खेलाडी छानिएको छ । जसमा, बार्सिलोनका लियोनल मेस्सी, युभेन्टसका क्रिस्टियानो रोनाल्डो तथा लिभरपुलका भर्जिल भान डाइक रहेका छन् ।

यसअघि उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक भएको थियो । सो सूचीबाट भोटिङ, प्रदर्शन र मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन जनालाई छानिएको हो । सार्वजनिक तीन खेलाडीले नै आफ्नो टिमलाई च्याम्पियन्स बनाएका छन् ।

भर्जिल भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका छन् भने मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् । यस्तै रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ र कोपा इटालियाको उपाधि जिताएका छन् ।

यी तीनै जनामध्ये च्याम्पियन्स लिग विजेता भर्जिल भान डाइकलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । तर, हालै मा युइएफए दि बेस्ट प्लयेरको नतिजा लीक भएको छ । जसमा, बार्सिलोनाका कप्तान लियोनल मेस्सीले युइएफए द बेस्ट प्लेयरको उपाधि जितेका छन् ।

अनलाइनमार्फत् लीक भएको उक्त नतिजाअनुसार ३२ वर्षी मेस्सी रोनाल्डो र भान डाइकलाई पछि पार्दै ‘मेन्स प्लयेर अफ दि इयर’ बनेका हुन् । यु/रेजिड्पले पोस्ट गरेको एक तस्बिरमा १० खेलाडीको नाम उल्लेख गरिएको छ र मेस्सीलाई विजेता बनाइएको छ ।

यसैगरी भान डाइक दास्रो हुँदा रोनाल्डोलाई तेस्रो बनाइएको छ । त्यहाँ सार्वजनिक भएको वरीयताअनुसार मेस्सीले २ सय ५२ पोइन्ट पाएका छन् भने भान डाइकले २ सय २४ तथा रोनाल्डोले १ सय ८१ पोइन्ट पाएका छन् । यद्यपि, यो आधिकारिक नतिजा होइन । अफिसियल नतिजा भने २९ तारिखमा सार्वजनिक गरिनेछ ।

यस्तै गत बुधबार युइएफए च्याम्पियन्स लिगले एक भोटिङ पोल गरेको थियो । ट्वीटरमा सार्वजनिक गरेको उक्त भोटिङ पोलमा ४ लाख ४४ हजार ८ सय ७४ जनाले भोट गर्दा मेस्सी अगाडि छन् । हालसम्मको नतिजा हेर्दा मेस्सीले ४३ प्रतिशत भोट पाएका छन् भने भान डाइकले ३० तथा रोनाल्डोले २७ प्रतिशत भोट पाएका छन् । यद्यपि, यस भोटिङ पोलको पनि केही मान्यता हुनेछैन ।

यो अवार्ड युइएफएले सबैखाले प्रतियोगिता गरेर उनीहरूको प्रदर्शनका आधारमा प्रदान गर्नेछ । घरेलु र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताको प्रदर्शनका आधारमा विजेता चुनिने छ । यस्तै अन्तिम तीन जनामध्येबाट ८० जना कोचहरूले एक जना छान्नेछन् ।

त्यहाँ ति कोचहरू जुरी हुनेछन् जसको क्लबले च्याम्पियन्स लिग र युरोपा लिगको समूह चरणमा सहभागिता जनाएका हुन् । यस्तै अन्य ५५ जना युरोपियन स्पोर्ट्स मिडियाका पत्रकारहरूले पनि तीन जनामध्येबाट एक जना छान्न पाउनेछन् ।

Loading...