fbpx

राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर,
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालको आयोजनामा विराटनगरमा भएको ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए । उनले विगत सुखद नरहेको प्रसंग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए ।

यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताए । उनले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गरे । रासस

Loading...