fbpx

पत्रपत्रिकामा प्रदेश : डेंगुको संक्रमण बढ्यो, सुनसरीमा एक जनाको मृत्यु

विराटनगर । तीन महिनामा डेंगुका विरामीको संख्या सुनसरीमामात्रै ३ हजार २ सय ६६ पुगेको छ । सबै भन्दा बढी धरानमा ३ हजार १ सय ७३ जना डेंगुको बिरामी भएका छन् ।

एकजनाको डेंगुकै कारण मृत्यु समेत भएको खबर नागरिक पूर्वेलीमा छापिएको छ । धरानमा डेंगु महामारीकै रुपमा फैलिएको र अन्य क्षेत्रमा भने डेंगु नियन्त्रणमै रहेको छ । डेंगुले गर्दा धरानकी ३० वर्षीया मुनु सुनुवारको मृत्यु भएको हो । धरान १५ कि सुनुवारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै इटहरीमा ६३ र इनरुवामा ३० जना डेंगुको संक्रमणमा परेका छन् ।

यस्तै प्रदेश नम्बर २ मा नामाकरणका विषयमा वहस सुरु भएको खबर पनि पूर्वेलीमा छ । प्रदेश २ को स्थायी राजधानीसँगै नामाकरणका लागि प्रदेश सभा सचिवालयले प्रस्ताव आब्हान गरेसँगै यसबारे संसदीय दल, नागरिक समाजदेखि सामाजिक सञ्जालसम्म वहस सुरु भएको हो । सत्तापक्षले मधेस नामाकरण गर्न अडान लिएको छ भने प्रतिपक्षी दलहरुले भने मधेस बाहेक अन्य विकल्प खोज्नु पर्ने बताउदै आएका छन् । मधेस बाहेक प्रदेश २ को नाम मिथिल, जनक वा जानकी समेत चर्चामा छन् ।

उद्घोष दैनिकले एक वर्षको अवधिमा मोरङ जिल्ला अदालतमा ७० प्रतिशत मुद्धा फछ्र्याेट भएको खबर छापेको छ । आर्थिक वर्ष २०७५ ०७६ मा दर्ता भएका ६ हजार ५ सय ८१ मुद्धा मध्ये ४ हजार ५ सय ४८ मुद्धा फछ्र्याेट भएको अदातलका सुचना अधिकारी युवराज पौडेलले बताए ।

यस्तै विराटनगरका विभिन्न होटलबाट ५६ जना पक्राउ गरेको समाचार पनि उद्घोष दैनिकमा छ । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न होटल, रेष्टुरेण्ट र गेष्टहाउसमा छाप मारेर ५६ जनालाई पक्राउ गरेको छ । जसमा २७ जना महिला छन् । प्रहरीले ६ ७ वटा होटल छापा मारेपनि नाम सार्वजनिक गरेन् । यस्तै प्रहरीले अनैतिक कृयाकलापमा संलग्न भएको आशंका गरेर पक्राउ गरेको बताए पनि पुष्टि गर्न सकेन् । प्रहरीले प्रदेशको राजधानी विराटनगरमा आएर बास बसेकाहरुको इज्जतमा खेलवाड गरेको क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले बताए । उनले यो विषयमा प्रदेश सरकारसँग कुरा राख्ने बताए ।

क्यानडा लैजाने प्रलोभनमा ८ सय जनालाई ठगि गर्ने एक युवा झापामा पक्राउ परेका छन् । मोरङको उर्लाबारी ७ वरगाछीका रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश १ को प्रहरीले टोलीले काकडभिट्टाबाट पक्राउ गरेको ब्लाष्ट टाइम्समा खबर छ ।

पक्राउ परेका खड्काले सन् २०१२ देखि हालसम्म ८ सय भन्दा बढी युवालाई ठगेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले बताए । उनले विभिन्न ५ फेसबुक आइडी बनाइ साथी बनाउदै ठग्ने गरेको प्रहरीले जनाएको छ । फेसबुकबाट खाडी मुलुकमा भएका युवाहरलाई साथी बनाई आफु क्यानडाको पिआर होल्डर भएको बताउने र उनीहरुलाई पनि स्पोन्सर गरि क्यानडा लान सक्ने भन्दै फकाउने गरेको थिए । उनले पिडितहरुलाई स्पोन्सर गर्न ४ लाख दुतावासमा खर्च हुने तर २ लाख आफुले हाल्ने उतै गएर तिर्दा हुन्छ अहिले २ लाख दिनु भन्दै पैसा उम्काउने गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रचार प्रसार गर्ने उदेश्यले ट्राभल संघ झापाले ५ दिने भारतको सिक्किम भ्रमण गर्ने भएको छ । ब्लाष्ट टाइम्समा छापिएको खबरमा संघका अध्यक्ष निरबहादुर कार्की नेत्र को नेतृत्वमा १४ जनाको टोली रहने बताइएको छ । टोलीमा प्रदेश १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, संचारकर्मी पर्यटन व्यवसायीहरु गरि १४ जना रहने छन् । सिक्किमका पर्यटन व्यवसायीहरुको निमन्त्रणमा टोली जान लागेको हो ।

Loading...