fbpx

साबिकको विजेता बार्सिलोना ला लिगाको पहिलो खेलमै पराजित

विराटनगर,
साबिकको विजेता बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुआत हारबाट गरेको छ । शुक्रबार राति भएको ला लिगाको उद्धाटन खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग १–० गोलको हार ब्यहोरेको हो ।

बिल्बाओकै घरेलु मैदानमा भएको सो खेलको पहिलो हाफ गोलरहित बराबरीमा बितेको थियो । तर, खेलको ८९औँ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले निर्णायक गोल गर्दैै एथ्लेटिकलाई सुखद सुरुआत दिलाए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका उनले गोल गर्दै टोलीलाई जित दिलाए ।

यस खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले खेलेका थिएनन् । अघिल्लो साताको सोमबार अभ्यासका क्रममा घाइते हुन पुगेका मेस्सीले हिजोको खेल गुमाएका थिए । हाल टोलीभन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका मेस्सी पिँडुलामा लागेको चोटबाट उन्मुक्ति पाउन संघर्षरत छन् ।

यस जितसँगै एथ्लेटिकले अंकतालिकामा शीर्ष स्थान बनाएको छ भने बार्सिलोनालाई पुछारमा धकेलिदिएको छ । साबिकको विजेता टोलीलाई हराएको एथ्लेटिकोले ३ अंक बनाएको छ ।

Loading...