fbpx

पत्रपत्रिकामा प्रदेश : संघीयताको उपलब्धि, गाँउ पुग्दै विकासको लहर

विराटनगर ।

पुर्वी पहाडी जिल्ला पाँचथरमा संघीयतापछि धमाधम विकास निर्माणको काम सुरु भएको नागरिक पुर्वेलीमा खबर छ । सानै भएपनि विभिन्न स्थानमा विकास निर्माणको काम हुन थालेपछि स्थानीय उत्साहित बनेका छन् ।

स्थानीय आवश्यक्ता र समस्या बुझेका जनप्रतिनिधि भएपछि सर्वसाधारणलाई उत्साह दिने गरि काम भइरहेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले यसैसाता पाँचथरका विभिन्न आयोजनाको उद्घाटन गरेका छन् । उनले सदरमुकाम जोड्ने तीनवटा सडकको उद्घाटन गरे । पाँचथरमा सडकसंगै अन्य विकासका आयोजनाहरुपनि सञ्चालनमा रहेका छन् ।

जनविद्रोह दैनिकमा बैजनाथपुर रंगशाला अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको खबरलाई मुख्य बनाएको छ । अख्तियारले मैदानको नापजाँच गरी कागजात समेत नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट इन्जिनियर सहित आएको टोलीले जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई पनि मैदानमा लगेको थियो । टोलीले त्यसमा प्रयोग भएको इटा, बालुवा र गिटीको विवरण संकलन गर्नुका साथै नापजाँच पनि गरेको छ । कार्यालयबाट उपभोक्तासंग भएको सम्झौतालगायत सबै विल भर्पाइ र भुक्तानी विवरणका कागजात लगेको बस्नेतलाई उदृत गर्दै जनविद्रोह दैनिकले खबर छापेको छ ।

जनविद्रोहमा नै डेंगुका विरामीलाई सुन्दर हरैचा नगरपालिकाले १५ हजार रुपैयाँ दिने भएको छ । नगरभित्रका डेंगु संक्रमितलाई उपचारमा सहयोग गर्न १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । नगरपालिकाका मेयर शिव ढकालले कमजोर आर्थिक अबस्था भएकालाई उपचारमा अफ्ट्यारो नहोस भनेर सहयोग गर्न लागिएको बताए ।

ब्लाष्ट दैनिकमा डाक्टरहरुको सुझाव, धुवाँ फाल्दैमा डेंगु नियन्त्रण हुदैन शिर्षकमा मुख्य पृष्ठमा खबर छ । डेंगु नियन्त्रण गर्न धुवाँ फाल्ने काम सकरात्मक नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले इटहरी उपमहानगरपालिकालाई जानकारी गराएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले फगिङ मेसिनले धुवाँ फल्दैमा डेंगु नियन्त्रण नहुने बताए ।

धुवाँले समाजका जेष्ठ नागरिक, बालबालिकाहरुमा नकरात्मक असर पर्ने रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक लालले बताए । उनले धुवाँले डेंगु नियन्त्रणमा सकरात्मक असर नगर्ने बताएका हुन् । रोग नियन्त्रण गर्न खोज र नष्ट गर नै प्रभावकारी भएको उनको भनाई छ । डेंगु फैलिएपछि नियन्त्रण गर्न समय लाग्ने भन्दै उनले मन्त्रालयले आवश्यक कदम चालिरहेको बताए ।

Loading...