fbpx

छुट्टिको लोभले दुई हिन्दी फिल्मको बीचमा ‘हजार जुनीसम्म’

विराटनगर,
विशेष चाडपर्वमा बाहेक नेपालमा शुक्रबार मात्र रिलिज गर्न पाइने नियम भएपनि आज जनैपूर्णिमाको अवसर पारेर फिल्म ‘हजार जुनीसम्म’ आज अर्थात् बिहीबारबाटै प्रदर्शनमा आएको छ । फिल्मको व्यापार राम्रो हुनका लागि फिल्मलाई बिदा तथा चाडपर्वहरु निकै महत्त्वपूर्ण रहन्छ । बिदाको लोभले ‘हजार जुनीसम्म’ ले बिहीबार प्रदर्शन गरे पनि सरकारले यस वर्ष जनैपूर्णिमाको विदा दिएको छैन ।

यो फिल्मसँगै आजै बलिउडका दुई ठूला फिल्म अभिनेता अक्षय कुमारको ‘मिशन मंगल’ र अभिनेता जोन अब्राहमको ‘बाटला हाउस’ पनि प्रदर्शनमा आएका छन् । फिल्मको पटकथा बलियो नभए दुई हिन्दी फिल्मको अगाडि मल्टीप्लेक्समा ‘हजार जुनीसम्म’ लाई टिक्न निकै गार्हो देखिन्छ । फिल्मको ट्रेलर तथा गीतहरुलाई दर्शकहरुले मन पराएका छन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानलगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । फिल्म ‘हजार जुनीसम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् । फिल्ममा आर्यनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको दुई चरित्रमा प्रस्तुत छन् । फिल्ममा आफ्नो उमेर भन्दा २५ वर्ष धेरै उमेर भएको व्यक्तिको भूमिका निर्वाह गर्न पाएकोमा आफ्नो खुशी व्यक्त गर्दै फिल्म निकै राम्रो बनेको बताएका छन् ।

Loading...