fbpx

जिदानको विश्वासिलो खेलाडी मार्सेलो

एजेन्सी,
ब्राजिलियन स्टार खेलाडी मार्सेलोले अघिल्लो सिजनको ला लिगामा सुरुआती ४ राउण्डका खेल मात्र खेल्न पाए । बाँकी खेलमा जुलेन लोपेटेगीको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका उनले सन् २०१८–१९ को ला लिगामा धेरै मौका पाएनन् ।

तर, प्रशिक्षकमा जिनेदिन जिदान फर्किएसँगै उनले मौका पाउन थालेका छन् । जिदानको आगमनसँगै मार्सेलोले प्रायः खेलमा मौका पाउन थालेका छन् । रियलले अहिलेसम्म ७ वटा प्रि–सिजनका खेलहरू खेलिसक्दा मार्सेलो ६ वटा खेलमा पहिलो रोजाइमै मैदान उत्रिएका थिए । आर्सनलविरुद्धको खेलमा भने मार्सेलो पहिलो रोजाइमा परेनन् ।

जिदाने क्लबमा आएसँगै मार्सेलोलाई सक्दो सहयोग गरिरहेका छन् । जिदानले मार्सेलो राम्रो खेलाडी भएका कारण पनि आफ्नो पहिलो रोजाइमा परेको बताएका छन् । उनले भनेका छन्, ‘मार्सेलो केही ढिला खेल्छन् तर उनले क्लबलाई सक्दो सहयोग गरिरहेका छन् । हामी मार्सेलोले राम्रो खेलुन् भन्ने चाहान्छौं र हामी उनलाई धेरै समय खेलेको हेर्न चाहान्छौं ।’

यस्तै उनले मार्सेलो पूर्ण रुपमा उत्तम नभएपनि आफूले धेरै माया गर्ने बताए । उनले भने, ‘म खेलाडीका रूपमा उनलाई धेरै माया गर्छु । उनी पूर्ण उत्तम त नहोलान् तर, मार्सेलो भनेको मार्सेलो हुन् । उनका खेलमा केही कमजोरी छन् । यो उनलाई पनि थाहा होला ।’

मार्सेलो लामो समयदेखि रियलमा छन् । सन् २००७ देखि रियलबाट खेलिरहेका उनले आफ्नो कार्य निरन्तर गरिरहेका छन् । प्रि–सिजनका प्रायः खेलमा सुरुआती ११ मा परिरहेका उनले ला लिगामा पनि उत्तिकै स्थान पाउने सम्भावना रहेको बताइएको छ ।

रियलले आउँदो शनिबारबाट नयाँ सिजनको ला लिगाको सुरुआत गर्नेछ । अघिल्लो सिजनमा तेस्रो स्थानमै चित्त बुझाएको रियलले यस सिजन ला लिगाको पहिलो खेलमा सेल्टा भिगोसँग खेल्नेछ । यसअघि उसले ७ वटा प्रि–सिजनअन्तर्गतको खेल खेल्दा तीन खेलमा जित निकालेको थियो भने बाँकी ४ खेलमा हार व्यहोरेको थियो ।

Loading...