fbpx

छुवाछुत हटाउन लागिपरेका टंकप्रसादलाई सामाजिक बहिष्कार !

विराटनगर,
जातीय छुवाछुत हटाउन आयोजना गरिएको सहभोज कार्यक्रममा सहभागी भएर दही खाने खोटाङका एक बृद्ध सामाजिक बहिष्कारमा परेका छन् । खोटाङको दिक्तेल नगरपालिका–१ कोलेबाली गाउँका ७६ वर्षीय टंकप्रसाद आचार्य १८ जेठमा दिक्तेलमा आयोजना भएको सहभोज कार्यक्रममा सहभागी भएर दही खाएपछि आफन्त र छिमेकीहरुको बहिष्कारमा परेका हुन् ।

bahiskar

सानो जातिसँग संगै बसेर खानपान गरेको र छुवाछुत हटाउन सहयोगी कहलिएर दोसल्ला ओढेर सम्मान थापेर चलन बिगारेको भन्दै बृद्ध आचार्यलाई उनका आफन्त र छिमेकीहरुले अघोषित बहिष्कार गरेका हुन् ।

न्याय खोज्दै एक नम्बर प्रदेशसभामा सांसदहरुलाई आफ्ना कुरा सुनाउन २९ साउनमा विराटनगर आएका पीडित बृद्ध आर्चायका अनुसार आजकल दमाइ, कामी र सार्कीसँग संगै बसेर खाएको र उनीहरुले ओढाएको सम्मान ग्रहण गरर जात फालेको भन्दै उनलाई समाजले अघोषित बहिष्कार गरेका हुन् । आजकल उनलाई समाजमा आफन्त र छिमेकीहरु कसैले पनि मरिमराउ, पूजाआजा र अन्य सामाजिक कार्जेमा बोलाउने गर्देनन् र उनको घरमा कोही पनि आउने गरेका छैनन् ।

दिक्तेलमा भएको सामूहिक सहभोजमा स्थानीय दलित अगुवा चर्च विश्वकर्माको निमन्त्रणालाई हार्दिक स्वीकार गरेर सहभोजमा सहभागी भएका थिए । सीडीओ, एलडीओ, डीएसपीलगायत सहभागी भएको कार्यक्रममा उनलाई समाज परिवर्तन गराउन साहसी भूमिका खेलेको भनेर दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

तर, यता सानाजातलाई होस्याउने काम गरेको भन्दै बृद्ध टंकप्रसादलाई छिमेकीहरु महेश, गणेश र झूमप्रसाद आर्चायलगायतले भेला राखेर गल्ती भएकोले समाजले गरेको दण्ड भुक्तान गर्न आग्रह गरेका थिए । तर, जातिय छुवाछुतविरोधी टंकप्रसादले आफूले कुनै अपराध नगरकोले राज्यले ठहर गरेको बाहेक अन्य कसैले दिएको दण्ड स्वीकार नगर्ने अडान लिएका थिए । उनले त्यस्तो अडान लिएपछि ब्रम्हाण समुदायका अगुवाहरुले उनी र उनको परिवारलाई समाजिक कार्जे बहिष्कार गर्ने निधो गरेका थिए ।

त्यसपछि उनी र उनको परिवारलाई छिमेकी मर्दा मलामी जाँदा शवपनि छुन दिइएन भने गाउँमा लाग्ने पूजाआजा र पुराणहरुमा निम्तोसमेत दिइँदैन । छुवाछुतको अघोषित समाजिक बहिष्कारको पीडाले छटपटाएका बृद्ध टंकप्रसादले प्रदेशसभा परिसरमा पत्रकारहरुसँग धरधरी रुँदै भने, ‘मैले अपराध गरेको भए राजदण्ड भोग्न तयार छु तर अपराधै नगरी कुनै दउ दण्ड स्वीकार गर्दिँन । यो देशमा सरकार छ भने मलाई न्याय दिलाउनुपर्छ ।’

आफूले सबै धार्मिक ग्रन्थहरु पढेको र कतैपनि सानो र ठूलो जात भनेर नभनेकोले जातीय छुवाछुतलाई कहिल्यै स्वीकार नगरेको बृद्ध टंकप्रसाद बताउँछन् । २ छोरा ३ छोरी र ५ जना नातिनीका धनी बृद्ध टंकप्रसा आचार्य ७ जनाको परिवारका सदस्यसँगै बस्दै आएका छन् ।

खोटाङका प्रदेशसभा सदस्य राजन राईले २९ साउनको प्रदेशसभा बैठकको शुन्य समयमा बृद्ध टंकप्रसादको पक्षमा बोल्दै छुवाछुतको अघोषित बहिष्कारको प्रमाण नभएकोले कानूनी कारवाही माग गर्दै कतै उजुरी गर्न नसकेको जानकारी गराए । सांसद राईले सभाहलको दर्शक दीर्घामा बसेका बृद्ध टंकप्रसादलाई देखाउँदै भने, ‘घोषितभन्दा अघोषित बहिष्कारको पीडा झन् पीडादायी हुने रहेछ, उनलाई कसरी न्याय दिलाउने हो सबैले सोचौँ ।’

यस्तो छ छुवाछुतविरुद्ध संविधान र कानून

नेपालको संविधान २०७२ को भाग ३ को मौलिकहकको धारा २४ को छुवाछुत तथा भेदभावविरुद्धको हकको उपधारा ३ अनुसार कुनैपनि व्यक्तिलाई, उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जातजाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै किसिमले प्रोत्साहन गर्न पाइने छैन ।

यसैगरी जातीय विभेद तथा छुवाछुत कसुर ऐन, २०६८ अनुसार कुनैपनि व्यक्तिले कसैलाई पनि जातजाति, पेशा, धर्म, वर्ण र लिंगका आधारमा अमानवीय व्यवहार गरेमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको ठर्हछ । कसैलाई पनि जातजाति, पेशा धर्म, वर्ण र लिङ्गका आधारमा निषेध गर्न, रोक लगाउन, नियन्त्रण गर्न, प्रतिबन्ध लगाउन, बहिष्कार र निष्कासन गर्न पाइँदैन । कसुर गर्नेलाई ३ वर्षसम्म कैदसहित १ हजार देखि २५ हजारसम्म जरिवाना र एक लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्था छ । सरकारी पदधारण गरेको व्यक्ति भएमा सजाय दोब्बर हुन्छ ।

Loading...