fbpx

पत्रपत्रिकामा प्रदेश : बैजनाथपुर क्रिकेट मैदान पिच संसदीय समितिले अनुगमन गर्ने

विराटनगर ।

उद्घोष दैनिकमा छापिएको खबरमा अनियमितता भएको आशंकामा प्रदेश सभाको सामाजिक विकास समितिले विराटनगर महानगरपालिका १९ मा निर्माणधिन क्रिकेट पिचको अनुगमन गर्ने भएको समाचार छापेको छ ।

बुधबार बसेको समितिको बैठकले मैदान र पिच निर्माणमा अनियमितता भएको शंका गर्दै छानविनकालागि अनुगमन गर्ने निर्णय गरेको हो । पिच निर्माणकोलागि सामाजिक विकास मन्त्रालय प्रदेश १ ले ४३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उपभोक्ता समितिमार्फत पिच निर्माण भएपनि अनियमितता भएको आशंका गर्दै प्रदेश सभामा सांसदहरुले कुरा उठाएपछि सो विषयमा जानकरी लिन समितिले बैठकमा सामजिक विकास मन्त्री जीवन घिमिरेलाई बोलाएको थियो । सामाजिक समितिका सदस्य एवं कांग्रेस सचेतक केदार कार्कीले मन्त्रालयका हरेक काममा सेटिङ हुने गरेको भन्दै त्यसको नेतृत्व सचिव हरीप्रसाद दाहालले गरेको आरोप लगाए । संसदीय समितिले छानविन गर्ने समाचार विराटनगरबाट प्रकाशन हुने सबै पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।

न्यू सृष्टि दैनिकमा संघीय समाजवादीका नेता उमेशकुमार यादवलाई मोरङ प्रहरीले सार्वजनिक अपराधमा मुद्धा लगाएको खबर छापेको छ ।

यादवले डिउटीमा रहेका प्रहरी जवानलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । मंगलबार राती पक्राउ परेका यादवमाथी विराटनगर रोडशेष चोकमा प्रहरी जवान स्यामकुमार चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउँजूले यादवमाथी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर गरेको बताए ।

जनविद्रोह दैनिकमा दलितले छोएको दही खाँदा सामाजिक बहिस्कार शिर्षकमा खबर छापेको छ । खोटाङको दिक्तेल नगरपालिका १ का ७६ वर्षीय वृद्ध टंकप्रसाद आचार्यलाई दाजुभाई र छरछिमेकीले दलित बालिकाले दिएको दही खाएपछि बहिस्कार गरेका हुन् ।

दिक्तेल १ कोलोबारीका वृद्ध आचार्यले आफ्नै नाताका जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगी गणेश आचार्य, प्रहरी महेश आचार्य लगायतकाले बहिस्कार गरेको बताए । उनले कामी दमाईकोमा गएर खाने भन्दै मानसिक तनाब दिएको बताएकाछन् । दही खाएपछि मलामी जादाँ दाउरा हाल्नसमेत नदिएको उनको गुनासो छ । न्याय माग्दै उनी प्रदेश सभा विराटनगर आएका छन् ।

एक गाग्रो पानी लिन ६ घण्टा शिर्षकमा ब्लाष्ट टाइम्समा खबर छ । धनकुटाको सहिदभुमि गाँउपालिका ६ सुकेआहालबासीले ६ घण्टा पालो कुरेर पानी भर्ने गरेका छन् ।

करिब ७० घर परिवार रहेको गाँउमा पानी थाप्नकोलागि दुईवटा केन्द्र तोकिएको छ । स्थानीय लोककुमारी राईले एक गाग्री पानी भर्न ६ घण्टा कुर्नु पर्ने बताइन् । दुई वटा केन्द्रमा ६ ६ घण्टाको अन्तरमा पालैपालो पानी थाप्ने गरेको उनको भनार्य छ । एउटा केन्द्र सुकेआहाल बजारमा र अर्काे केही पर गाँउकोबीचमा छ ।

चुनावका बेला पानी घर घरमा पुर्याउने वाचा गर्दै निर्वाचित भएकाहरुले अहिलेसम्म वास्ता नगरेको स्थानीयले गुनासो गर्छन् । पानी नहुदाँ गाईबस्तु पाल्न नसकेको र मौसमअनुसार खेती गर्न नसकेको स्थानीय कुम्भबहादुर राईको भनाई छ ।

Loading...