fbpx

मापसेगरी प्रहरी जवानमाथि हातपात गर्ने मेयरका उम्मेद्वार पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरी डिउटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा समाजवादी पार्टी नेपालका नेता उमेश यादव पक्राउ परेका छन् । विराटनगर रोडशेष चोकमा डिउटीमा रहेका प्रहरी जवानमाथि हातपात गरेको आरोपमा विराटनगर महानगरपालिकाका मेयरका उम्मेद्वार समेत रहेका यादव पक्राउ परेका हुन् ।

मंगलबार राति रोडशेष चोकमा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाएपछि प्रहरीले यादव सवार मोटरसाइकललाई रोकेको थियो । तर प्रहरीलाइ अटेर गर्दै माेटरसाइकल अघि बढेपछि प्रहरीले  मोटरसाइकलको चाबी निकालेका थिए । चाबी निकालेपछि माेटरसाइकल    पछाडी बसेका यादवले प्रहरी जवान श्यामकुमार चौधरीमाथि कुटपिट गरेका  हुन् ।

प्रहरीका अनुसार चालक र प्रहरी माथि कुटपिट गर्ने यादव दुबैले मापसे गरेका थिए ।

मंगलबार राति रोडशेष चोकमा दुईजना प्रहरी डिउटीमा खटिएका थिए ।  डिउटीमा रहेका प्रहरीमाथि कुटपिट भए लगतै पुगेकाे प्रहरीले  यादव र मोटरसाइकल चालकलाई पक्राउ गरेको हाे । मोटरसाइकल चालकलाई मंगलबार राति नियन्त्रणमा लिएको प्रहरीले बुधबार बिहान गल्ति नदेखिएपछि छाडेको  छ ।

प्रहरीमाथि कुटपिट गरेका यादवलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । उनका अनुसार यादवलाई सात दिनको म्यद थप गरिएको छ ।

यादव स्थानीय तहको चुनावमा संघिय समाजवादी फोरम र तत्कालिन माओवादी गठबन्धनबाट मेयरमा उम्मेद्धवारी दिएका व्यक्ति हुन् । निर्वाचनमा भीम पराजुली निर्वाचित हुँदा विनोद ढकाल दोस्रो र उमेश यादव तेस्रो भएका छन् ।

Loading...