fbpx

जिदानको लक्ष्य ला लिगाको उपाधि !

एजेन्सी,
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो लक्ष्य ला लिगाको उपाधि रहेको बताएका छन् । जिदानले हालै दिएको एक अन्तर्वाताको क्रममा आफू ला लिगा जित्ने लक्ष्यका साथ रियलमा फर्किएको बताएका हुन् ।

अघिल्लो वर्ष रियल छोडेर पुनः ९ महिनापछि क्लब फर्किएका जिदानले आफू ला लिगा जित्ने लक्ष्य राखेर क्लब फर्किएको बताए । रियलले आउँदो शनिबार सेल्टा भिगोसँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ । सर्वाधिक ३३ पटकको ला लिगा विजेता रियललाई अझ एउटा उपाधि थपिदिने जिदानको इच्छा छ ।

गत सिजन नै पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छोडेर युभेन्टस गएपछि कमजोर बनेको रियल अघिल्लो सिजन तेस्रो हुन पुग्यो । बार्सिलोनासँग ११ अंकले पछि परेको रियललाई एथ्लेटिको मड्रिडले पनि उछिन्यो । तर, अब यो सिजन भने रियललाई उपाधि दिलाउने लक्ष्य जिदानको छ ।

जिदान यस प्रतियोगितामा आफ्नो प्राथमिकता उपाधिमा रहेको बताउँछन् । रियललाई उपाधि दिलाउनका लागि नै आफू क्लब फर्किएको उनको भनाइ छ । उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘म लिग जित्ने योजनाका साथ रियलमा फर्किएको हुँ । एक–एक दिन गरेर त्यो दिन पनि आउनेछ जहाँ मैले लिग जितेको हुनेछु । मैले ला लिगाको उपाधिलाई महत्त्वपूर्ण मान्दै प्राथमिकतामा राखेको छु ।’

जिदानले आफ्नो टोलीले ला लिगाको सुरुआतदेखि नै उच्च प्रदर्शन गर्दै लैजाने बताए । ‘मलाई जसरी भएपनि लिग जित्नु छ,’ उनले थपे, ‘हामी ला लिगाको सुरुआत उत्कृष्ट ढंगबाट गर्नेछौं, जसले उपाधि जित्न सम्भव होस् । यो नै प्रि–सिजनपछिको एक महत्त्वपूर्ण कुरा हो । अरु कुनै पनि प्रतियोगितालाई ध्यान नदिएर हामी ला लिगा जित्नका लागि लागिपर्नेछौं ।’

Loading...