fbpx

नौनी राख्न ५० टन क्षमताको चिस्यान केन्द्र बनाइदै

विराटनगर । नौनी घ्यू सुरक्षाकालागि दुग्ध वितरण आयोजना विराटनगरले थर्माेकुल(चिस्यान केन्द्र) बनाउने भएको छ । नौनी (बटर) संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको हो । जसकालागि प्रदेश सरकारको अनुदान उपलब्ध गराएको छ ।

विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर उत्पादन हुने सिजनमा हेटौंडा र काठमाडाैंमा लगेर राख्नुपर्ने बाध्यता थियो । तर प्रदेश सरकारले अनुदान उपलब्ध गराएपछि सहज हुने आयोजना प्रमुख निलकण्ठ गौतमले बताए ।

उनका अनुसार आयोजनाले अहिले ५० हजार किलोग्राम बटर सुरक्षित राख्ने गरी नयाँ कन्टेनर बनाइरहेको छ । अघिल्लो वर्ष दुग्ध विकास संस्थानमा झण्डै ५ सय मेट्रिक टन बटर स्टक थियो । त्यतिबेला उत्पादन गरेको बटर सुरक्षित राख्न समस्या भएको थियो । कन्टेनर नहुँदा दूध संकलन र प्रशोधनमा पनि कटौती गर्नुपर्ने अवस्था थियो ।

प्रदेश सरकारले विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर उत्पादन क्षमता विस्तारसँगै बटर उत्पादनमा हुने बढोत्तरीलाई सम्वोधन गर्न, बोइलर र आइस बैंकलाई समेत चुस्त राख्न भन्दै ५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको थियो ।

आयोजनाले किसानले बेच्न चाहेजती दूध किन्नुपर्ने प्रदेश सरकारको सर्त स्वीकार गर्दै पाउडरप्लान्ट तथा प्रशोधन प्रणालीमा सुधारको काम अघि बढाएको हो । आयोजनाले सिजनमा मिल्क होलिडे नगर्ने सर्तमा अनुदान रकम लिएको हो ।

Loading...