fbpx

वडामा मदिरा बिक्री गरे १५ हजार, प्रयोग गरी हल्ला गरे एकहजार जरिवाना

बैतडी । मदिराका कारण घरेलु हिसां बढेपछि बैतडीको दशरथचन्द नगरपालिका ९ नम्बर वडाले मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलबार वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।

मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि १५ हजार, ओसारपसार गरेको पाइए पहिलोपटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेको पाइए पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर एक हजार ५०० देखि पाँच हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए ।

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको उनको भनाई छ । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरी काम पनि सुरु गरेको छ ।

तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गरिने छ । रासस

प्रतिक्रिया

Loading...