fbpx

काेशी राजमार्गमा ज्यान मार्ने धराप (भिडियोसहित)

विराटनगर २९ साउन । विराटनगर रानी– इटहरी ६ लेन सडक परियोजना अन्तरगत बुढीगंगा गाउँपालिका–१ मा विद्युतका पोल नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ । सडक विस्तारका क्रममा बिजुलीको खम्बाहरू बीच सडकमा नै छाड्दा  दुर्घटनाको जोखिम बढेको हो ।

६ लेन सडक परियोजना अन्तरगत विराटनगर ढाटदेखि विराट टिचिङ अस्पताल नजिकै सम्म सडक निर्माण भएकाे छ । तर अारती स्ट्रिप्ट नजिकै रहेका  बिजुलीका पोल हटाइएको छैन् । बिजुलीको खम्बा कसले हटाउने भन्ने विवादका कारण झण्डै ५ महिनादेखि सडकको बीच भागका खम्बाहरु निकालिएका छैनन् ।

नेपाल विद्युत प्राधिकरणले बिजुलीको खम्बा हटाउने जिम्मा सम्बन्धित सडक निर्माण कम्पनीको भएको बताउँछ । तर निर्माण कम्पनी भने बिजुलीको खम्बा हटाउन पटक पटक आग्रह गर्दा पनि प्राधिकरणले जनशक्ति व्यवस्थापन नगरिदिएको बताउँछ ।

बिजुलीको पोल हटाउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि चासो नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेल बताउँछन् । ठूलो मानविय क्षति नभए पनि दैनिक जस्तो दुर्घटनाको जोखिमा बढेको उनले बताए ।

बिजुलीको पोलमा ठोक्किएर दर्जनबढी सामान्य दुर्घटना भइसकेका छन् । बीच सडकमा पोलको कारणले  ठूलाे दुर्घनाको जोखीम बढेको सवारी चालकहरु बताउँछन् । मोटरसाइकललाई सडकमा पोल राख्दा धेरै समस्या भएको उनीहरुका गुनासो छ ।

६ लेन व्यापारिक मार्ग परियोजनाका इन्जिनियर गौतम देव वर्षा नरोकिएका कारण बिजुलीका पोल सार्न नसकिएको बताउँछन् ।  पानी परेकाे अवस्थामा काम गर्दा दुर्घटनाको जोखिम हुने बताउँदै उनले केही दिनभित्र पोल सारिने बताए । ‘निरन्तर वर्षा भएका कारण काम गर्न सकिएको छैन् ।’ उनी भन्छन् ‘ विजुलीका पोलहरु तयारी अवस्थामा छन् । काम सक्न तीन दिन लाग्छ ।’ उनका अनुसार जटिल अवस्थामा रहेका तार र पोललाई व्यावस्थापन गर्न तीन दिन लाग्छ ।

प्रतिक्रिया

Loading...