fbpx

राष्ट्रिय पूँजीको विकास नगरी राष्ट्रको विकास हुन्न : मन्त्री कार्की

विराटनगर ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पूँजीको विकास नगरी राष्ट्रको विकास नहुने बताएका छन् ।
प्रदेशसभाको मंगलबारको बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले विधेयकले वैदेशिक लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न मद्दत गर्ने दाबी गरे । मुलुकलाई समुन्नत र समृद्ध बनाउन विधेयक आवश्यक रहेको उनले बताए । “झोलामा खोला भन्ने बुझाइलाई यो विधेयकले नियन्त्रण गर्ने व्यवस्था गरेको छ”, मन्त्री कार्कीले भने ।

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी राखिएको प्रस्ताव पारित भएको छ । प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले पेश गरे ।

प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ अनुसार ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि सैद्धान्तिक छलफल शुरु भएको छ । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य रामबहादुर मगरले विश्वविद्यालयमा कृषि र भेटेनरी शिक्षा पनि समावेश गर्न माग गरे । प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य उषाकला राईले वर्षाका कारण विस्थापित खोटाङका बाढी र पहिरो पीडित परिवार तथा सुक्खाग्रस्त क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिन सुन्य समयमा बोल्दै प्रदेश सरकारसँग माग गरिन् ।

प्रतिक्रिया

Loading...