fbpx

रोनाल्डोले भने-‘मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु, मेस्सीले छैनन्’

एजेन्सी,
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू खास प्रतिद्वन्द्वी खेलाडी लियोनल मेस्सीभन्दा फरक हुनुका केही कारणहरू खुलाएका छन् । युभेन्टसका स्टार खेलाडी रोनाल्डोले डीएजेडएनसँगको अन्तर्वार्ताको क्रममा मेस्सीभन्दा फरक हुनुको कारण खुलाएका हुन् ।

अघिल्लो सिजन मात्र रियल मड्रिडबाट युभेन्टस गएका उनले आफूले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको तर, मेस्सी एउटै क्लबमा मात्र बसेको बताए । उनले भने, ‘मेस्सी र ममा एउटा ठूलो फरक छ कि, मैले विभिन्न क्लबबाट खेलेको छु तर मेस्सी एउटा क्लब छोड्न सकेका छैनन् । र, मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु तर मेस्सीले छैनन् ।’

रोनाल्डोले तीन देशबाट फरक–फरक तीन उपाधि जितेका छन् । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छँदा प्रिमियर लिग र स्पेन छँदा ला लिगा जितेका उनले इटालीबाट सिरी ‘ए’ पनि जितेका छन् । यसका अतिरिक्त आफ्नो करिअरमा पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका उनी पाँच पटकका बालोन डी‘ओरको विजेतासमेत हुन् ।

चार पटक क्लब विश्वकप जितेका उनी तीन पटक युरोपियन सुपर कपको उपाधि विजेता हुन् । रोनाल्डोले तीन प्रिमियर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरोपियन च्याम्पियन्स कप र एक युइएफए नेशन्स लिगको उपाधि जितेका छन् । ३४ वर्षीय रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय २७ गोल गरेका छन् ।

यस्तै उनले आफू च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता रहेको बताउँदै आफू उनीभन्दा यहाँ पनि अगाडि रहेको बताए । आफू पाँच पटकको च्याम्पियन्स लिग विजेता रहेको भन्दै उनले भने, ‘म च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुँ । यहाँ अरु कुनै खेलाडी छैनन्, जसले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेको होस् । यसैकारण मलाई लाग्छ कि म यस प्रतियोगिताले आफूलाई चिनाउन सक्छु ।’

यस्तै रोनाल्डोको मेस्सीको तारिफ पनि गरे । उनले भने, ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन्, जो गोल्डेन बलका लागि मात्र चिनिदैनन् । बरु सधैंभरि चनिन्छन्, हरेक वर्ष चिनिन्छन्, म जस्तै ।’

रोनाल्डो क्लबका लागि नभएर राष्ट्रका लागि पनि सफल खेलाडी मानिन्छन् । उनले आफ्नो राष्ट्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाएका थिए । राष्ट्रका लागि ८८ गोल गरेका रोनाल्डोको कप्तानीमा पोर्चुगलले सो उपाधि जितेको थियो ।

प्रतिक्रिया 1

प्रतिक्रिया

Loading...