fbpx

डिप्रेसन के हो ? लक्षण र यसबाट कसरी बच्ने ?

विराटनगर,
खाली मन उदास हुनुलाई मात्र डिप्रेसन भनिँदैन । त्रि.वि. शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार डिप्रेसन भनेको मानसिक रोग हो । यो रोगले हाम्रो सोचाइ, भावना तथा व्यवहारमा असर गर्दछ ।

डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । नेपालमा मात्र करिब ८ लाख नेपालीमा डिप्रेसनको समस्या रहेको चिकित्सकहरूले बताएका छन् । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउने गर्छ ।

डिप्रेसन कडा मानसिक रोग होइन तर, समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेसनको रोगीले आफूलाई चोट पुर्याउनुका साथै आत्महत्यासमेत गर्न सक्छन् । यो रोग जो कोही व्यक्तिलाई पनि लाग्न सक्छ । तर, नेपालमा भने पुरुषभन्दा महिलामा डिप्रेसनको रोग बढी रहेको डा. सरोज ओझाले बताएका छन् ।

डिप्रेसन हुँदा मन उदास वा दिक्क भइरहने, केही गर्न मन नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने, खाना खान मन नलाग्ने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने, भविष्यप्रति नैराश्यता छाउने, खुसी हुन नसक्ने जस्ता लक्षण देखा पर्न थाल्छन् ।

साथै, निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरुमा महिनावारी नियमित नहुने, आत्महत्याको विचार आउनेसमेत हुन सक्छ । केटाकेटीहरूलाई डिप्रेसन भएमा खाना नखाने, खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण देखा पर्छन् । धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

डिप्रेसन रोगलाई निको बनाउनका लागि समयमै रोग पहिचान गरी चिकित्सकबाट सल्लाह लिएर औषधिसमेत सेवन गर्नुपर्ने हुन्छ । डिप्रेसन रोगिहरुलाई सिर्जनात्मक कुरामा लगाउने गर्नु पर्छ । मुड अफ भएको बेला गीत सुन्ने, डान्स गर्ने, पेन्टिङ, गार्डेनमा समय बिताउने या केही आफूलाई मन पर्ने काम गर्नु पर्छ । यस्तो बेलामा आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्न सकिन्छ । मनको कुरा सेयर गरेमा मन हलुका हुने गर्छ ।

यस्तो समयमा आउने तनावलाई सकारात्मक रुपमा लिएर पर्याप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ । आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि समस्यालाई कसरी सामाधान गर्न सकिन्छ भन्ने सोच राख्नु पर्छ । साथै साथीभाई भेट्ने, रमाइलो गर्ने, मन पारेको ठाउँ घुम्न जाने, योग गर्ने, ध्यान गर्ने तथा सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । मानसिक समस्या भएको संकेत देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

प्रतिक्रिया

Loading...