fbpx

‘नेयमार र हाजार्ड भएमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्छ’

एजेन्सी,
स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिडका पूर्वमिडफिल्डर जियोर्गी हागीले नेयमार र हाजार्ड एकसाथ भएमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्ने बताएका छन् । अर्जेन्टिनी मिडिया सुपर डिपोर्टिभोसँगको अन्तर्वार्ताका क्रममा ५४ वर्षीय हागीले यस्तो बताएका हुन् ।

उनले सो अन्तर्वार्ताको क्रममा नेयमार रियल मड्रिड आउने सम्भावना रहेको समेत बताए । नेयमारले वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मनसायमा छन् । सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी गएका ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्र्याउन पूर्वक्लब बार्सिलोना र रियल ‘तँछाड–मछाड’ गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

२ सय २२ मिलियन युरोमा पीएसजी गएका उनले २ सिजन मात्र पीएसजीबाट खेले । पीएसजीमा पाँच वर्षको लागि सम्झौता गरेका उनले क्लबको अपेच्छाअनुरुपको प्रदर्शन गर्न सकेनन् । अधिकांश समय चोटग्रस्त बनेका उनले दुई वर्षमै क्लब छोड्ने निर्णय गरे ।

रियलले अर्का स्टार इडेन हाजार्डलाई भने भित्र्याइसकेको छ । इंग्लिस क्लब चेल्सीबाट रियल आएका उनले प्रि–सिजनका सबै खेलहरु खेलिसकेका छन् । अब उनले आउँदो शनिबारबाट ला लिगाको खेल सुरु गर्नेछन् । अब, नेयमार पनि भित्रिएमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि अरु कसैको हुन नदिने रोमानियाका लिजेन्ड हागी बताउँछन् ।

यस्तै हागीले नेयमार भित्र्याएर च्याम्पियन्स लिगको ट्रफी जित्न रियललाई सुझाव पनि दिएका छन् । उनले नेयमार र हाजार्डले सर्वाधिक धेरै पटकको च्याम्पियन्स लिग विजेता टोली रियललाई चौधौं च्याम्पियन्स लिगको उपाधि दिलाउन सक्ने बताउँदै भनेका छन्, ‘उनीहरूले सहजै जित्न सक्छन्, बिनाकुनै शंका । यदि, उनीहरूले नेयमारलाई पनि अनुबन्ध गराएमा । उनीहरूले चौधौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सक्नेछन् ।’

‘त्यसपछि जिनेदिन जिदानले नेयमारको स्थानको खोजी गर्नुपर्ने छ,’ उनले भनेका छन्, ‘तर, त्यो उत्कृष्ट कुरा कोचमा हुनु जरुरी छ । जिदानले नेयमारलाई उत्प्रेरणा जगाउनु आवश्यक हुन्छ ।’

हागीले नेयमार ‘टप प्लेयर’ रहेको बताए । उनले भने, ‘धेरै समय छन्, कुनै बेला नेयमार राम्रा थिए कुनैबेला नराम्रा । जस्तै अहिले कुनैबेला उनी थोरै लापरबाही छन् । तर, यसको कुनै अर्थ छैन । उनको मूल्य अहिलेपनि त्यहीँ छ । उनी त्यस्ता खेलाडी हुन्, जो जुनसुकै टिममा रहेर पनि खेल्न सजिलै खेल्न सक्छन् ।’

प्रतिक्रिया

Loading...