fbpx

कोशी अस्पतालमा एक महिनादेखि वेवारिसो बिरामी, खुट्टा कुहिएर झर्नै लाग्यो तर उपचार भएन

विराटनगर,
कोशी अञ्चल अस्पताल विराटनगरमा एकजना बिरामी एक महिनादेखि वेवारिसे अवस्थामा छन् । ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक महिनादेखि अस्पतालको इमरजेन्सी वार्डअगाडि वेवारिसे अवस्थामा रहेका हुन् ।

देब्रो खुट्टा कुहिरएर झर्नै लाग्दापनि अस्पतालले उपचार गर्न मानेको छैन । ‘म बाँच्न चाहान्छु, उपचार गराइदिनुहोस्,’ एक महिनादेखि कुरुवा घरमा वेवारिसे अवस्थामा रहेका मगरले भने, ‘मेरो घर ओखलढुंगा हो, आफन्त कोही छैनन् ।’

patient

भारतको हरियमणबाट फर्कने क्रममा आफूलाई चोट लागेको उनले सुनाए । भारतमा रहँदा कुल्लीको काम गरेका उनलाई कसैले अस्पतालसम्म लगेर छाडिदिएका थिए । तर, आफन्त नभएको बताउँदै अस्पतालले उनको उपचार गर्न मानेको छैन । आफन्त नभएका कारण उनी एक महिनादेखि बसेकाे स्थानबाट उठ्न  सक्दैनन् । उनी बसेकाे स्थान वरीपरी झिँगां फैलिएका छन् । घुँडा देखि तलकाे भाग कुहिएका कारण दुर्गन्ध पनि फैलिएकाे छ । अस्पतालमा आएका विरामी कुरूवाले दिएकाे खानेकुरा खाएर प्राण धानिरहेका मगर उपचार छेउछाउ आउने सबैलाइ उपचार गरिदिन आग्रह गर्छन् ।

अस्पताल प्रशासन भन्छ : ‘उपचार गर्न सक्दैनौं ’

एक महिनादेखि इमरजेन्सी वार्डको प्रतीक्षालयमा बसेका मगरलाई उपचारमा अस्पतालले कुनै चासो दिएको छैन । अस्पतालमा आउँदा उनको खुट्टाको चोट थोरै थियो । तर, उपचार नहुँदा बढेर घुँडासम्म पुगेको छ ।

कोशी अस्पतालका अर्थाेपेडिक सर्जन यज्ञराज खरेल बिरामीको खुट्टा काटेर फाल्नुको विकल्प नभएको बताउँछन् । तर, अस्पतालको पूर्जीमा हस्ताक्षर गर्ने मानिस नभएका कारण उनको शल्यक्रिया नभएको उनले बताए । ‘कुरुवा भए तत्काल शल्यक्रिया गर्छाैं,’ उनले भने ‘एकजना जिम्मेवारी लिने मान्छे चाहिन्छ ।’

कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रोशन पोखरेल बेवारिसे अवस्थामा रहेका व्यक्तिको हेरचाह गर्ने कोही भेटिए अस्पतालले उपचार गर्ने बताउँछन् । ‘बिरामीको आफन्त कोही छैनन्, चिकित्सकले खुट्टा काट्नुपर्ने भनेका छन्,’ उनले भने, ‘हामीले उपचार गर्न खोजेका थियौं तर कुरुवा नभएका कारण सस्या छ ।’

बाँच्न पाउने अधिकारको सुरक्षा गर

अस्पताल अगाडी मृत्युसँग लडिरहेका व्यक्तिको अस्पतालले  तत्काल उपचार  गर्नु  पर्ने उपभोक्ताबादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । ‘बाँच्न पाउने मासिनको मौलिक हक हो,’ उनले भने, ‘राज्यले तत्काल उपचारको ग्यारेन्टी गर्नुपर्छ ।’ स्थानीय सरकारले उपचारका लागि जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Loading...