fbpx

रिसका कारण निम्तिन्छ स्वास्थ्यमा समस्या

रिस एक प्रकारको भावना हो । मानिसको मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतराजन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ । रिसलाई मानिसको सबैभन्दा ठूलो शत्रु पनि मानिने गरिन्छ ।

सानो सानो कुरामा झर्को मानेर बारम्बार रिसाइरहेकाहरुलाई जीवनमा धेरै समस्याहरु पारिरहेको हुन्छ । बारम्बार रिसाउने मानिसलाई धेरैले विश्वास नगर्ने हुँदा सम्बन्धमा दरार आउनुका साथै निष्ठामा पनि समस्या आउन सक्छ । रिसाएको व्यक्तिले आफूसँग भएका कयौँ कुराहरु गुमाइरहेको हुन्छ । सम्बन्धमा खटपट सुरु हुने कारण पनि बारम्बर रिसाइ रहनु हो । रिसले आफैंलाई हानि गरिरहेको हुन्छ । त्यसैले धेरै रिसाउनु राम्रो हुँदैन ।

मानिसले सक्दो आफ्नो रिसलाई कम गरेर आफूलाई स्थापित गर्ने क्रममा अगाडि बढ्दै जानु पर्छ । कसैले रिसलाई नियन्त्रण गर्न सक्छन् भने धेरैले रिसलाई नियन्त्रण गर्न भने सक्दैनन् । समयमै रिसलाई नियन्त्रण गर्न सकिएन भने तनाब, परिवार र साथीभाइमा झगडादेखि विभिन्न स्वास्थ्यमा समस्यासमेत निम्तिन सक्छ ।

रिसले टाउको दुख्ने, रक्तचाप बढ्ने, निन्द्रामा असर, मुटु रोग, ग्यास्ट्रिक, कब्जियत, अपच तथा पाचन प्रणालीमा असर गर्नुका साथै रोगसँग लड्ने क्षमतामा असर पुर्याउने गर्छ । यति मात्र नभएर मानसिक समस्या जस्तै उदासिपन, डिप्रेसन, अनिन्द्रा, आत्मविश्वासमा कमी देखा पर्नुका साथै खानपिनको व्यवहारमा असर, लागूपदार्थको प्रयोग गर्न बाध्यसमेत बनाउने गर्छ ।

सही तरिकाले रिसलाई अभिब्यक्त गर्न सक्यौँ भने रिस सामान्य हुन जान्छ । रिस उठ्दाखेरीको संकेतहरुलाई चिनेर त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर उपयुक्त किसिमका उपायहरू विकास गर्न सक्नु पर्छ । रिस किन र कसरी उठ्यो, यसको कारणलाई खोजेर अरुलाई दोष दिनुभन्दा पनि आफैँले आफैसँग कुरा गर्ने अनि वास्तविकतालाई बुझेर आफ्नो वर्तमानमा ध्यान केन्द्रित गर्न सक्नु पर्छ ।

त्यसैले, रिस उठ्नासाथ आफ्नो नकारात्मक सोचहरूलाई चिनेर आफ्नो मनलाई डाइभर्ट गर्न सक्नु पर्छ । एकछिन ब्रेक लिएर घुम्न जाने, लामो सास लिने, सुत्ने, आफूलाई ब्यस्त राख्ने, आफूलाई मनपरेको काम गर्ने, संगीत सुन्ने गर्नु पर्छ । रिसलाई नियन्त्रण गर्नका लागि नियमित रुपमा दैनिक योग, ध्यान, ब्यायामहरु गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...