fbpx

आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन

धरान ।

कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि आरक्ष क्षेत्रको बस्तीका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ ।

सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर वरपर चुना छर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । जीवाणु फैलिन नदिन चुना छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनको भनाई छ ।

विज्ञ केन्द्रका डाक्टर मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भइरहेको बताए । प्रदेश १ मा यसको भ्याक्सिन नभएकाले काठमाडौँबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरि भ्याक्सिन लगाउन सुरु गर्ने उनले बताए ।

केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डाक्टर महतोले जानकारी दिए । प्रयोगशालाको रिर्पोटका आधारमा आरक्षण क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसरी सर्छ एन्थ्रेक्स

डाक्टर महतोका अनुसार एन्थ्रेक्स आनुवंशिक रोग भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिनसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ । यो माटो, हावा र पानीबाटपनि सहजै सर्ने रोग हो । एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरमा रोगको उच्च जोखिम हुन्छ ।

मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु शरीरमा पुग्ने डा मेहताको भनाई छ ।

प्रतिक्रिया

Loading...