fbpx

नविकरण नगर्ने आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

सिरहा ।
लामो समयदेखि नविकरण नगरि अवैध रुपमा सञ्चालित सिरहाका आधा दर्जन निजी स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ ।

नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गरि सञ्चालन गरिरहेको लहानको लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाइल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए ।

त्यसैगरी लहानकै मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध तरिकाबाट सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।

स्वास्थ्य कार्यालयले गत जेठ महीनामै पत्र काटेर लहानस्थित लहान लाइफ केयर हस्पिटल प्रालि, डिभाईन हस्पिटल केयर प्रालि, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल प्रालि, माँ धमिनी हस्पिटल प्रालि, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि, लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयालाई लाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।

नविकरण नै नगरि सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरुलाई बन्द गर्न निर्देशन दिइएको हो । इजाजत मिति समाप्त भएका स्वास्थ्य संस्थालाई दर्ता नविकरणका लागि दुई महीनाको समय दिए पनि अटेर गरेकाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको अधिकृत कर्णको भनाई छ ।

प्रतिक्रिया

Loading...