fbpx

मानव तस्करी नेटवर्कबाट नेपाली युवा होसियार !

भुक्तभोगी युवाको बकपत्र
writter
सवीन घिमिरे

०७४ सालमा केही काम नगरी आफ्नो स्नात्तक सकेर कामको खोजीमा बसिरहेको थिएँ । घरमा एकजना चिनेको गाउँको दाइ आएर भारतमा आफू राम्रो कम्पनीमा रोजगार गरिरहेको र मेरो लागि पनि असल रोजगार मिलाइदिने कुरा बुबालाई बताए । बुबाले यो कुरा मलाई सुनाउनु भएपछि म उत्सुकताका साथ ती दाईलाइ भेट्न गएँ ।

भेटमा उनले मलाई भारतको गोरखपुरस्थित एउटा कपडा कम्पनीमा आफू रोजगार गरेको र महिनामा ६० देखि ७० हजार कमाउँदै गरेको सुनाए । म कम्पुटर चलाउन दक्ष भएको कारण मलाई कम्प्युटरमै बसेर कपडाको विवरण इन्ट्री गर्ने मान्छे कम्पनीले खोजिरहेको कुरा उनले बताए । उनले कम्पनीको अन्य सदस्य यस्ता छन् भनेर टाइसुट लगाएको नेपालीहरुको फोटो देखाए । त्यो देखेर साँच्चै नै कम्पनी राम्रो रहेछ भनेर म जानलाई तयार भएँ ।

रोजगारका लागि कस्तो प्रकारको अन्तरवार्ता हुन्छ वा अन्य प्रक्रिया के छ भन्ने मेरो जिज्ञासामा उनले बेलीबिस्तार लगाए । कम्पनीमा गएर ७ दिनको तालिम लिनपर्छ अनि सबै काम सिकाएपछि ८औँ दिनमा काम शुरु गर्न थालिन्छ । तालिम अवधिभर कम्पनिको होस्टेलमा बस्नु पर्छ । त्यसको लागि खाने बस्ने शुल्क स्वरुप भारु दुई हजार आफैँले व्यहोर्नु पर्छ । तालिम सकेपछि कम्पनीले आधिकारिक लाइसेन्स प्रदान गर्छ, जसको लागि भारु दश हजार बुझाउनु पर्छ ।

शुरुमा मासिक ३० देखि ३५ हजार भारु तलब पाइने कुरा पनि उनले बताए । उनको यी कुरा सुनेर म परिवारसँग सल्लाह गरेर केही रकम जोहो गरेर म गोरखपुर जान तयार भएँ । छरछिमेकी, दाजुभाइ, इष्टमित्र सबैसँग परदेश लागेजस्तै गरेर बिदा भएँ ।

………………….

ति दाइ र म इटहरीको बसपार्कमा भेट भयौँ । त्यहाँबाट भैरहवाको यात्रा तय गरियो । इटहरीमै मैले उनलाई १९ हजार रकम जिम्मा लगाएँ । साँझ बस चढेका हामी भोलिपल्ट भैरहवा पुग्यौँ । सीमा पारगर्ने बेलामा ती दाईले काम गर्न गएको होइन, घुम्न गएको भन्नु है प्रहरीलाई भनेर मलाई सिकाए । मैले त्यसै भने ।

रक्सौल बोर्डर पार गरेर एउटा जीपबाट गोरखपुरको यात्रा तय गरियो । गोरखपुरको एक बसपार्कमा हामीलाई जीपले ओराल्यो । त्यहाँबाट टेम्पो चढेर हामी गोरखपुरस्थित फातिमा रोड भन्ने ठाउँमा पुग्यौँ । त्यहाँस्थित त्यस कम्पनि रहेछ । हामी होस्टेल पुग्यौँ । तर, यहाँसम्म आइपुग्दा पनि मलाइ कम्पनीको नाम बताइएन । मैले सोध्दा पनि कम्पनी पुगेपछि थाहा पाइन्छ भन्ने कुरा भयो । होस्टेलमा अरु धेरै युवायुवतीहरु थिए । सबैसँग परिचय भयो । त्यहाँ संखुवासभा, भोजपुर, दाङ, पाल्पा, बुटबल, डोल्पा, पर्वत तथा अन्य विभिन्न जिल्लाका युवाहरु थिए ।

एकैछिन परिचय गरिसकेपछि मलाइ मेरो कोठाहरु देखाइयो । त्यो रात बेलुका त्यहाँ सानो बैठक राखियो । त्यहाँको नियमहरु बताइयो । मोबाइल प्रयोग गर्न नपाउने, अगाडी आएका साथी वा समूहसँग बोल्न र उनीहरुसँग बस्न नपाउने, बाहिर निस्किनु परे जोसँग आएको उहीसँग निस्किनु पर्ने जस्ता अन्य कठोर नियमहरु सुनाइयो ।

म अलिअलि चस्किएँ । त्यहाँ मभन्दा अघि आएकोहरुसँग बोल्न, बस्न र गफ गर्नसमेत दिइँदैन रहेछ । मभन्दा पछि आउनेलाई मसँग बोल्न र बस्न दिइएन । कताकता मनमा डर लाग्न थाल्यो । अर्को दिन अफिस जान तयारी भयौँ । पुरानाहरु कोट, पेन्ट, टाइ, जुत्तामा सजिएका थिएँ । मलाई नि फर्मल लुगा लगाउनु पर्छ भनियो । हामी फर्मल ड्रेस अप गरेर अफिस पुग्यौँ । डीएण्डडी (ड्रिम डेभलोपर्स) कम्पनी लेखेको एउटा ठूलो भवनमा हामीलाई जम्मा गरियो ।

मलाइ ति दाईले नेपालदेखि यहाँ आउन्जेलसम्म एकपल पनि साथ छोडेनन् । मैले त्यो भवनभित्र हजारौँ नेपालीहरु देखेँ । मैले त्यति धेरै मान्छे कुनै कार्यक्रम वा भोजभतेरमा पनि देखेको थिइँन । सबै जना सुटपेन्टमा लगाएका अनि स्ट्याण्डर्ड किसिमका मानिसहरु थिए । मानिसहरु आउनेजाने क्रम चलिरहेको थियो । तीन–तीन जनाको समूह बनाएर त्यहाँ केही कक्षा लिइयो । यसरी सबैले तालिम लिइँदै गइयो । त्यहाँ जो कोही तालिम दिनको लागि आउँथे । उनीहरुले आफ्नो कथा सुनाउँथे र बिगतको दिनमा आफू सुन्तला बेच्दै हिँडेको, अहिले यस कम्पनीमा आएपछि आफ्नो कार छ, घर छ, सम्पत्ति छ भनेर मन्त्रमुग्ध पार्ने सफलताका कथा सुनाउँथे । त्यहाँ बेरोजगारदेखि लिएर इन्जिनियर, प्राध्यापक, भूपू प्रहरीहरु पनि थिए ।

………………………….

तालिमको तेस्रो दिन एउटा सेमिनार भयो । सेमिनारमा कम्पनीको दर्जा ड्युक, मार्क्यु पाएका व्यक्तिहरु आएर आफ्नो जीवन कथा सुनाए । यस कम्पनीमा मेहनत गरेपछि जिन्दगी नै करोडपति भएको कथाहरु सुनाए । त्यस कम्पनीमा मेहनत गर्दा आइफोन, बुलेट बाइक, कार पाइन्छ भनेर अनेक प्रलोभन देखाए । धेरैजना त बुलेट, कार चढेरै आउने गरेको पनि मैले देखेँ । मलाई शंका लाग्न थाल्यो कतै यो मान्छे लिएर आउनु पर्ने खालको नेटवर्कको व्यापार त होइन भनेर । त्यो सेमिनार सकिनासाथ मैले मलाई लिएर आउने दाइलाई मैले काम चाँहि के गर्नु पर्ने ? कहा गर्नु पर्ने ? भनेर सोधेँ । तर, उनले यो ट्रेनिङ्ग सकिएपछि थाहा पाइहाल्छौ भनेर टारे ।

चौथो दिनमा मैले कुनै अर्को व्यक्तिबाट थाहा पाएँ, त्यहाँ ट्रेनिङ्ग सकिएपछि एक–दुई लाख लगानी गर्न लगाएर कपडाहरु दिँदा रहेछन् । नेपालबाट आफूले पनि अन्य व्यक्तिहरु त्यहाँ पुर्याएर लगानी गर्न लाएपछि आफूलाई कमिसन पाइन्छ भनेर ।

………………………….

म छाँगाबाट खसेको जस्तै भए । मलाई तस्करी गरिएको कुरा मैले थाहा पाएँ । र, ती दाईलाई नेपाल फर्किने कुरा गरेँ । तर, तिनले केही लगानी लागाएपछि फाइदा हुन्छ भनेर अन्य मानिसहरु लिएर आउन बाध्य पार्ने खालको ‘ब्रेनवास’ गर्ने काम गरे । उनी आफैँले मेरो लागि मान्छे खोजिदिएर मेरो कमिसन बढाउने कुरा गरेर मलाई ढुक्क पार्न खोजे । उनीहरुको कुरा यति मीठो र सत्य जस्तै लाग्ने किसिमको हुन्थ्यो कि जसलाई सुनेर म भोलि नै करोडपति हुन्छु झैँ लाग्थ्यो । तर, यथार्थ त्यो थिएन । जबजस्र्ती सही गराएर पैसा लिने, गुण्डागर्दी गर्छन् कि भन्ने डरले मलाइ भतभती पोल्यो । म ठगिएको अथवा म बेचिएको कुरामा म निश्चित भए । त्यसै रात सम्पूर्ण सामान छाडेर त्यहाँबाट भागेर म नेपाल फर्किएँ ।

………………………….

यसरी रोजगारको नाममा म जस्ता हजारौँ नेपाली युवा ठगिरहेका छन् । कति जना मनोरोगीसमेत बनेका छन् । मान्छेलाई प्रलोभनमा पारेर बाध्य बनाई मान्छे ठग्ने नेटवर्किङ बिजनेश हो यो । यो निकै खतरनाक हुन्छ । यसको जालोमा परेपछि ‘ईन्तु न चिन्तु’ भएर मान्छे आफ्नै गाउँ समाजको मान्छे ठग्न बाध्य हुन्छ ।

………………………….

आर्कषक तलवसहितको रोजगारी दिलाउने भनेर दैनिक सयौँ नेयाली यूवायूवतीहरुलाई तस्करी गरेर भारतका विभिन्न शहरमा लगिनेक्रम जारी छ । भारतको सिलिगुडी, गोरखपुर, मोतिहारीलगायतका विभिन्न शहरमा यसरी मान्छे ट्र्यापिङ गरेर तस्करी गर्ने गराउने कम्पनीहरु सक्रिय छन् । जसबाट हजारौँ नेपालीहरु ठगीहरुको छन् । यसबारे नेपालको प्रहरी प्रशासन पनि बेखबर छ । म भुक्तभोगी युवाको सबैमा अनुरोध छ । यस प्रकारको तस्करीबाट सबैजना सतर्क रहनु होला ।

एकले अर्कोलाई ठग्न सिकाउने यो सञ्जाल दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसमा सामेल हुन कसैले आग्रह गरेमा प्रहरीमा खबर गरिदिनुहोला । गाउँघरमा शहर बजारका टोलमा भएका एजेन्टहरुबारे जानकारी गराउनु होला । उनीहरुको प्रलोभनमा नफस्नुहोला । किनभने, फसेपछि आफू ठग बन्न बाध्य हुनुपर्छ ।

र, सबै तहका सरकारले यस विषयमा उच्च सतर्कता अपनाउनु आवश्यक छ । मानव तस्करीको सञ्जाल बनाएर अकुत कमाउनेहरुविरुद्ध विभिन्न सचेतना कार्यक्रम तथा अभियान चलाएर यसको रोकथाममा लागिपर्नुपर्छ । पहिचान भएका ठग एजेन्टहरुलाई प्रहरी प्रशासनले कडा कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया

Loading...