fbpx

आयुष केसीको स्वर रहेको ‘हजार जुनीसम्म’ को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर,
भारतीयको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका नेपालका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आफ्नो आवाज दिएका छन् । उनले ‘हजार जुनीसम्म’ मा बालकलाकार अनुभव रेग्मीकाका लागि गाएको ‘टाइटल’ गीत सार्वजनिक भएको छ ।

गायक उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’लाई रि–एरेन्ज गरेर फिल्ममा समावेश गरिएको हो । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहने भए पनि फिल्मको निर्माण टिमले युट्युबमा आयुषको स्वर रहेको लिरिकल म्युजिक भिडियो मात्र सार्वजनिक गरेको हो ।

उदय आफैँले तयार पारेको गीतमा पवन चाम्लिङ्ग ‘किरण’ले शब्द र योगेन्द्र घातानीले संगीत भरेका छन् । आयुषले ‘हजार जुनीसम्म’ जस्तो चर्चित गीत गाउन पाउनु आफ्नो लागि एक किसिमको जित हासिल गरेको जस्तो महसुस भएको बताएका छन् । सार्वजनिक गरिएको गीतको लिरिकल भिडियोमा फिल्मका दृश्यहरु समावेश गरिएका छन् ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानलगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको यस फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

फिल्म ‘हजार जुनी सम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् । फिल्ममा आर्यनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको दुई चरित्रमा प्रस्तुत छन् । उनले यस फिल्ममा आफ्नो उमेरभन्दा २५ वर्ष धेरै उमेर भएको व्यक्तिको भूमिका निर्वाह गर्न पाएकोमा आफ्नो खुशी व्यक्त गर्दै फिल्म निकै राम्रो बनेको बताएका छन् । फिल्म यहि साउन ३० मा प्रदर्शनमा आउने पक्का भएको छ । यसअघि फिल्मको पोस्टर, गीत तथा ट्रेलरहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

Loading...