fbpx

प्रिमियर लिग : चेल्सीमाथि म्यानचेष्टर युनाइटेडको शानदार जित

विराटनगर,
नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले विजयी सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड चेल्सीमाथि ४–० गोल अन्तरको जित निकाल्दै नयाँ सिजनको प्रिमियर लिगमा विजयी सुरुआत गरेको हो ।

युनाइटेडकै घरेलु मैदानमा ओल्ड ट्राफोल्डमा भएको यस खेलमा घरेलु टोलीलाई जित दिलाउन मार्कुस राष्फोर्डले दुई तथा एन्थोनी मार्टियल र डेनियल जेम्सले समान एक–एक गोल गरे । युनाइटेडले राष्फोर्डको गोलमार्फत सुरुआती अग्रता बनाएको थियो । उनले खेलको १८औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए ।

यस्तै दोस्रो हाफमा भने युनाइटेडले तीन गोल गर्यो । उसका लागि मार्टियलले खेलको ६५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउँदा राष्फोर्डले खेलको ६७औं मिनेटमा गोल गरे । यस्तै खेलको ८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीविरुद्ध ४–० गोलको जित दर्ता गर्यो ।

यस जितसँगै युनाइटेडले अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलसँग समान अंक भएतापनि उसले गोलान्तरको आधारमा दोस्रो स्थान बनाएको हो । यता, पराजित चेल्सी भने १९औं स्थानमा धकेलिएको छ । अघिल्लो सिजनमा भने यी दुई टोलीमध्ये चेल्सीले शीर्ष चारमा रहँदै सिजनको अन्त्य गरेको थियो भने युनाइटेडले छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।

अहिले लिगको शीर्ष स्थानमा साबिकको विजेता म्यानचेष्टर सिटी छ भने दोस्रो स्थानमा युनाइटेड, तेस्रो स्थानमा साबिकको उपविजेता लिभरपुल, चौथो स्थानमा ब्राइटन, पाँचौंमा बर्नेली र छैटौंमा टोटनह्याम रहेका छन् । यी क्लबहरूले नयाँ सिजनमा सुखद सुरुवात गरिसकेको छन् ।

प्रतिक्रिया

Loading...