fbpx

फेरि हार्‍यो रियल मड्रिड, रोमाले निकाल्यो पेनाल्टीमा जित

एजेन्सी,
स्पेनिस क्लब रियल मड्रिडले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्को हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा रियलले इटालियन क्लब रोमा हार व्यहोरेको हो ।

इटालीमा भएको यस खेलमा रोमाले रियललाई पेनाल्टीमा हराएको हो । खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा, रोमाले रियलमाथि ५–४ गोलको जित निकाल्यो ।

रियलका लागि मार्सेलोले पेनाल्टी मिस गरेपछि रोमा जित निकालेको हो । रियलका लुका मोड्रिक, ग्यारेथ बेल, इस्को र टोनी क्रुसले पेनाल्टीमा गोल गरेका थिए । तर, अन्तिममा पेनाल्टी प्रहार गरेका मार्सेलोले पेनाल्टी मिस गरेपछि खेलको नजिता रोमाको पक्षमा गयो । रोमाका कुनैपनि खेलाडीले पेनाल्टी मिस गरेनन् ।

त्यसअघि खेलमा सुरुआती अग्रता भने रियलले नै लिएको थियो । खेलको १६औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ३४औं मिनेटमा रोमाका डिएगो पेरोट्टीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसैगरी खेलको ३९औं मिनेटमा रियलका क्यासेमिरोले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । तर, खेलको ४०औं मिनेटमा रोमाका इडिन डजेकोले गोल गर्दै पहिलो हाफभरि २–२ गोलको बराबरी बनाए । दोस्रो हाफमा दुवै टोलीले गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो । जसमा, रोमाले बाजी मार्यो ।
रियलले योसहित गरेर ७ वटा प्रि–सिजनका खेलहरू खेल्यो । यसअघि उसले बायर्न म्युनिख, आर्सनल, एथ्लेटिको मड्रिड, टोटनह्याम, फेनेरबेक र साल्जबर्गसँग प्रि–सिजनका खेल खेलिसकेको छ । जसमध्ये रियलले साल्जबर्गग, फेनेरबेक र आर्सनविरुद्ध जित निकालेको थियो भने बाँकी खेलमा पराजय भोगेको छ । रियलले सातमध्ये ४ खेलमा हार र ३ खेलमा जित निकालेको हो ।

रियलले यो प्रि–सिजनको अन्तिम खेल खेलेको हो । अब रियल ला लिगामा जुट्नेछ । रियलले ला लिगाको पहिलो खेलमा सेल्टाभिगोसँग खेल्नेछ । यो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Loading...