fbpx

बकर इद पर्व मनाइँदै

काठमाडौं ।  मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।

मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताए । बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान रहेको उनले बताए ।

घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए ।

अल्लाहले इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने आदेश दिएपछि इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिएको र यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको उनले बताए । इदको अवसरमा विराटनगर महानगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

Loading...