fbpx

सार्वजनिक, निजी र साझेदारीसम्बन्धी विधेयकको छलफल सम्पन्न

विराटनगर । प्रदेश १ को प्रदेशसभामा सार्वजनिक, निजी, साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आइतबार सम्पन्न भएको छ । ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ अनुसार भएको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले भौतिक प्रगति नै सामाजवादको आधारशिला भएकाले विधेयक वैदेशिक लगानीलाई भित्र्याउन सहयोगी बन्ने बताए । सदस्य नवोदिता चौधरीले प्रदेशको आर्थिक मेरुदण्डसँग जोडिने विधेयकको प्राधिकरण गठनमा विपक्षी दलका नेतालाई पनि समावेश गर्नु पर्ने बताइन् ।

प्रदेश सांसद राजकुमार ओझाले निजी, साझेदारी र सार्वजनिक क्षेत्रलाई परिचालित गर्न वैदेशिक लगानीको आवश्यकता रहेका बेलामा यो विधेयक लाभदायी हुने बताए । सदस्य शिवनारायण गनगाईंले विकासमा गति लिन नसकेको प्रदेश सरकारले ल्याएको विधेयकबाट विकासलाई गति दिन मद्दत पुग्ने भएकाले यसलाई अझ समृद्ध बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गरे । सदस्य सर्वध्वज साँवा लिम्बुले आफ्नै लगानीमा सञ्चालन गर्न गर्न नसक्ने परियोजनालाई सञ्चालन गर्न विधेयकले बाटो खोल्ने बताए ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विशेष समयमा भर्खरै सुनसरीको कोशी टप्पुमा ठूलो सङ्ख्यामा चौपाया मरेका र मरेका चौपायामा एन्थेस नामक जीवाणु फेला परेकाले यसलाई नियन्त्रण तथा निर्मूल पार्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ऐतिहासिक कोशी सम्झौता र कोशी कटान सम्झौतापछि लामो समय बितिसक्दासमेत पीडितले क्षतिपूर्ति नपाएकाले प्रदेश सरकारले सङ्घीय सरकारलाई दबाब दिनुपर्ने समेत उनको माग छ ।

अर्थ समितिका सभापति मोहनकुमार खड्काले एक वर्षको अर्थको समीक्षा गर्दै प्रदेशको समग्र विकास गर्न प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश सदस्यलाई अनिवार्य सहभागी गराउन सुझाव दिए । उनले प्रदेश सरकारको प्राथमिकताका योजना स्पष्ट पार्नुपर्ने, प्रदेश खरीद ऐन बन्नुपर्ने र विकासको खाका निर्माण गर्नुपर्ने लगायतका सुझाव दिए ।

प्रदेशसभा सदस्य सूर्यराज राईले मोरङको पथरीमा सुकुम्बासीको समस्या समाधान गर्न छिट्टै आयोग बनाउन प्रदेश सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया

four × 3 =

Loading...