fbpx

साउदीको हवाई आक्रमणपछि यमनी विद्रोहीले गर्याे युद्धविराम

एडेन ।
साउदी अरेबियाले आइतबार यमनमा सक्रिय पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी)सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ ।

एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरेको बताए । चेतावनीस्वरुप एसटीसीविरुद्ध पहिलो कारबाही गरिएको उनको भनाई छ । हवाई कारबाहीबाट के कति क्षती भयो भन्ने विवरण आउन बाँकी रहेको बताए ।

यता हवाई कारबाही पछि एसटीसीसँग आबद्ध विद्रोही सेनाले गन्तव्यमा फिर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गर्दे फिर्ता भएको बताएको हो ।

एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको उल्लेख छ । यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न अग्रह गरेको थियो । साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धबिराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ । एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको आरोप छ ।

यमन सरकारले सन् २०१५ देखि एडेनलाई राजधानी बनाएको छ । सन् २०१४ देखि शुरु भएको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ । यमनमा हुथी विद्रोहीले राजधानी साना सहित अधिकांश भूभागमा कब्जा जमाएको छ ।

प्रतिक्रिया

Loading...