fbpx

स्वास्थ्य मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न बजेट अभाव

डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न बजेट अभाव भएको छ । आर्थिक वर्ष २०७५÷७६ को हालसम्म तीन हजार ४ सय २५ जनालाई डेंगु रोग देखा परेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुरु गरेको ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा ६ करोड १७ लाख, विभिन्न स्थानीय तहमा १ करोड ६६ लाख र महाशाखाले १ करोड ७१ विनियोजन भएको थियो ।

यस वर्ष खासै रकम वृद्धि भएको छैन् । महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्रआएपनि समायोजनका कारण महाशाखामा थप जनशक्ति नभएको र किटबक्स पठाइ सकिएको बताए । उनले निकायलाई थप पैसा दिन नसकिएको बताए । यो विषयमा अर्थमन्त्रालयमा जानकारी गराउदाँ बजेटको सिलिङ् पुरा भएको बताउने गरेको जानकारी दिए ।

उनले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो भन्ने जानकारी दिएनन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित बाहिर गएको छ ।
चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेङ्गु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डाक्टर लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको भन्दै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताए ।

महाशाखाद्वारा डेङ्गु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले डेङ्गु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेङ्गुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए । डेंगु सार्ने लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षातको महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Loading...