fbpx

गुगल र युटुब डाक्टरको पछि लाग्दा छालामा फाइदा हुनुको साटो उल्टो हानि पुग्ने

विराटनगर,
छाला सौन्दर्यसँग जोडिएको हुन्छ । आकर्षक, सफा र चम्किलो छालाको चाहना सबैलाई हुन्छ । मानिसले छालालाई आकर्षक बनाउनका लागि विभिन्न उपायहरु अपनाउने गर्छन् । तर, यस्ता विभिन्न उपायको प्रयोग गर्नुअगाडि कसैले पनि ध्यान भने पुर्याउने गर्दैनन् ।

छालालाई राम्रो देखाउनका लागि आजकल अनुहारमा हेवी मेकअप, गुगल तथा युटुब हेरेर विभिन्न घरेलु उपाय तथा औषधिहरुको प्रयोग गरिन्छ । टिभीमा आउने विज्ञापनले समेत युवतीहरुलाई मात्र नभएर युवाहरुलाई पनि निकै प्रभाव परेको देखिन्छ । त्यसमाथि साथीहरुले जे क्रिम प्रयोग गरिरहेका छन् त्यही देखासिकी गरेर प्रयोग गरेमा छालाका अनेक समस्या उत्पन्न हुन सक्छ ।

त्यसैले, बुझेर मात्र अनुहारमा सामग्रीहरुको प्रयोग गर्नुपर्छ । त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ सुदीप पराजुलीले गुगल, टिभीका विज्ञापन तथा युटुब डाक्टरको पछि लाग्दा छालामा फाइदा हुनुको साटो उल्टो हानि पुग्ने गर्छ । त्यहाँ देखाएका उपायहरु अपनाएर छाला राम्रो हुनुभन्दा अझ कुरुप चाही बन्दै गएको हुन्छ । सबैको छाला एउटै प्रकारको हुँदैन । कसैलाई त्यही उपाय तथा सामग्रीको प्रयोग गर्दा राम्रो हुन पनि सक्छ । तर, गुगल तथा युट्युबमा सुन्दर छाला पाउनका लागि देखाएअनुसार सबै कुरा गर्दै जाँदा फाइदा हुनुको साटो छालालाई धेरै हानि हुनसक्छ ।

त्यसैलै कुनै पनि सौन्दर्य प्रशाधनलाई प्रयोग गर्नुभन्दा पहिले त्यसको बारेमा राम्ररी बुझेर वा विशेषज्ञ डाक्टरको परामर्श लिएर मात्र प्रयोग गर्नुपर्छ । कस्मेटिकको खास अर्थ छालालाई सुन्दर देखाउने प्रशाधन हो जसले छालामा नकारात्मक असर गर्दैन । कस्मेटिक्स सामग्रीहरुको उत्पादन जस्तै फेसवास, क्लिनर, टोनर, क्रिम इत्यादी विभिन्न मेकअपको सामग्रीहरु किन्दा आफ्नो छालाको प्रकृतिअनुसार विचार गरेर मात्र लिने गर्नुपर्छ । जथाभावी, कम गुणस्तरका तथा म्याद गुज्रेका विभिन्न सामग्रीको उत्पादनले छालामा असर देखाएर अझ कुरुप बनाउन सक्छ । कस्मेटिकले छालामा असर गर्यो भने त्यसलाई कस्मेस्युटिकल्स् भनिन्छ ।

कस्मेटिक्समा औषधि मिसाएपछि त्यो कस्मेस्युटिकल्स् बन्न जान्छ । अस्वस्थ्य खानपान, पानीको कमी, तनावले गर्दा आजकल कालोपोतो, अनुहार सुख्खा भएर आउने दाग, एक्जिमा, डण्डीफोर, छाला चिलाउने आदि समस्याहरु बढिरहेका छन् । यस्ता समस्या लिएर आउने धेरैजसो महिला नै हुन्छन् । डा.पराजुलीका अनुसार विशेषगरी गृहिणी महिलामा धेरै समस्या पाइएको छ । यस्तो समस्या हुनेबित्तिकै फर्मासिस्ट क्लिनिकमा गएर बुझ्ने, गुगल, युटुब हेर्ने, साथीहरुसँग बुझ्ने गर्छन् र उनीहरुले सुझाएको क्रिम वा अन्य घरेलु उपायहरु समस्या हट्ने आस गर्दै प्रयोग गर्छन्, जसले गर्दा अनुहार सफा हुनुको साटो अझ बिग्रिन पुग्छ ।

डाक्टरको परामर्श नलिकन प्रयोग गरिएको औषधिहरुले औषधि नभएर स्टेरोइड हुन्छन् । स्टेरोइडले दाग तथा कालोपोतो नजाने होइन तर, लामो समयसम्म छालामा प्रयोग गर्दा यसले छालाका विभिन्न समस्याहरु निम्त्याउन थाल्छ । छाला पातलो हुने, रातो हुँदै जाने, रौँ आउने, डण्डीफोर जस्तो रातो बिमिरा आउने आदि समस्याहरु देखिन सक्छन् । रियाक्सन भयो भनेर मुहारमा दाग धब्बा आउन थालेपछि औषधि लगाउन छोडिन्छ । तर, यसरी औषधि लगाउन छोडे पनि दाग झन् बढ्दै जान्छ र छाला चिलाउने, सुख्खा हुने, घाउ हुन थाल्छ । त्यसैले सोधेर, बुझेर मात्र औषधिहरुको प्रयोग गर्नुपर्छ ।

सम्बन्धित चिकित्सकसँग सल्लाह लिएर मात्र औषधिको प्रयोग गर्नुपर्छ । चाला बिग्रिन वा बिगार्न पक्कै सजिलो छ, तर बनाउन निकै समय लाग्छ । छाला राम्रो स्वरुपमा आउन कम्तीमा पनि ६ महिनादेखि १ वर्षसम्म लाग्ने भएकोले धैर्यता राख्न आवश्यक हुन्छ । यस्तो कुरामा सतर्कता गर्नुका साथ साथै छालाको उचित हेरचाहका लागि सन्तुलित भोजन र पर्याप्त पानी पिउनु महत्वपूर्ण हुन्छ । यसका साथै राती मेकअप सफा नगरी सुत्दा छालाको छिद्र भित्र छिर्छ र छाला पोल्न तथा चिलाउन थाल्छ, जसले गर्दा अनुहारमा डण्डिफोर, चाया, पोतो तथा काला धब्बा आउने सम्भावना बढ्छ ।

प्रतिक्रिया

4 − four =

Loading...