fbpx

रियल मड्रिडलाई ‘सातौं स्वर्ग’ भन्दै हाजार्डले भने, ‘म अहिले सातौं स्वर्गबाट खेलिरहेको छु’

एजेन्सी,
यसै सिजन मात्र इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड आएका बेल्जियन स्टार इडेन हाजार्डले रियल ‘सातौं स्वर्ग’ रहेको बताएका छन् । २८ वर्षीय स्टार हाजार्डले कोर्रिरे डेल्ला सेरासँगको अन्तर्वार्ताको क्रममा आफू सातौं स्वर्गबाट खेलिरहेको बताए ।

चेल्सीबाट यसै सिजन स्पेन आएका उनले ६ खेल खेल्दा १ गोल गरेका छन् । हाजार्डले अष्ट्रेलियन क्लब साल्जबर्गविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका हुन् । उनको निर्णायक गोलका कारण रियलले साल्जबर्गविरुद्धको खेल १–० गोलले जितेको थियो ।

players

रियल मड्रिडले आज इटालियन क्लब रोमासँग खेल्दैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रियलले रोमासँग खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ । इटालीमै हुने यस खेल खेलेपछि रियलले प्रि–सिजन सक्नेछ । र, ला लिगामा जुट्नेछ । रियलले ला लिगाको पहिलो खेलमा सेल्टाभिगोसँग खेल्नेछ । यो खेल शनिबार हुनेछ ।

प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा खेलिरहेका उनले आफू सातौं स्वर्गबाट खेलिरहेको उल्लेख गरेका हुन् । आफूले सानै उमेरदेखि नै रियल मड्रिडको जर्सी लगाउने सपना बोकेको बताउँदै हाजार्डले भने, ‘जब म सानो थिएँ, त्यो बेलादेखि नै मैले रियल मड्रिडको टिसर्ट लगाउने सपना देखेको थिएँ ।’

यसैगरी उनले चेल्सीमा पनि आफ्नो समय राम्रो बितेको बताए । ‘जब रियलले तपाईंको ढोका ढकढकाउँछ, तपाईं खोल्न मात्र सक्नुहुन्छ, अरु केही गर्न सक्नुहुन्न,’ उनले भने, ‘चेल्सीमा छँदा मेरा वर्षहरू अवस्मरणीय बिते । तर, यहाँ म सातौं स्वर्गमा छु । मेरो आइडलमध्येकै एक जिनेदिन जिदानको क्लबमा खेल्न पाएको छु । जिदान ति व्यक्ति हुन्, जसको तस्बिर म कोठामा टाँस्ने गर्थेँ । तर, अब मैले उनको प्रशिक्षणमा खेल्न पाएको छु ।’

यसैगरी हाजार्डले चेल्सीका पूर्वप्रशिक्षक तथा इटालियन क्लब युभेन्टसका वर्तमान प्रशिक्षक मौरिजियो सार्री र इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेको प्रभावमा आफूमा निकै परेको खुलाए । उनले भने, ‘मैले दुवै प्रशिक्षकसँग धेरै कुरा सिकेको छु । उनीहरूसँग फरक खालका फुटबलको आइडियाहरू र विशेषताहरू छन् । तर, दुवैमा एउटा समानता पनि छ, उनीहरू दुवै विजेता हुन् । उनीहरूले खेलाडीलाई धेरै कुरा दिन सक्नछन् ।’

प्रतिक्रिया

3 × 1 =

Loading...