fbpx

तटबन्ध निर्माण नहुँदा जोखिममा विराटनगर

विराटनगर,
नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिंघीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भए ।

वर्सेनि खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेको केशल्या र पूर्वतर्फ रहेको सिंघीया नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले केशल्या नदीको तटबन्धका लागि रु चार अर्ब २१ करोड ७० लाख ५६ हजार र सिंघीया नदीको तटबन्धका लागि रु एक अर्ब २१ करोड १६ लाख खर्च लाग्ने जनाएको छ ।

विगतमा केशल्या नदीअन्तर्गत केशल्याघाटदेखि सन्ठीयासम्म करीब एक किलोमिटर निर्माण गरिएको तटबन्धको तारजाली तस्करले काटेर लगेपछि झन् समस्या उत्पन्न भएको विराटनगर–६ का सत्यजीवन चौधरीले बताए । यस्तै अर्का स्थानीयवासी राजेश डङ्गोलले यी दुवै नदीसँग जोडिएका बस्तीमा पानी पस्न नदिन तटबन्ध गर्नुको विकल्प नभएको बताए ।

नदी नियन्त्रणको काम दिगोरुपमा हुन नसकेपछि बाढीका समयमा सम्बन्धित कार्यालयले अस्थायीरुपमा गर्ने काम खासै महत्व नहुने र यसबाट स्थानीय जनता पीडित हुनुपरेकाले यसतर्फ सरोकारवाला निकाय समयमै गम्भीर हुनुपर्ने स्थानीयवासीको माग छ । रासस

प्रतिक्रिया

Loading...