fbpx

ओहो ! कोशी अञ्चल अस्पताल

pic
अंकिता ताम्राकार

मेनगेटबाट भित्र जाने बित्तिकै अस्पताल परिसरमा भएका सबै ठाउँहरु कता–कता पर्छन् भनेर बिरामीहरुलाई सजिलोको लागि एउटा बोर्डमा लेखिएको छ । ओपिडी (अन्तरंग विभाग) को पुर्जा लिने बिल भुक्तानी गर्ने काउन्टरमा बिरामी र आफन्तको भिडमभिड देखिन्छ । लाइनमा बसेका मानिसहरुले बेलाबेला तँछाड–मछाड पनि गर्छन् । निकै भिड भएका कारण उक्त सानो ठाउँमा धेरै नअट्ने भएपछि बिरामीहरु भुँइ र सिँढीमा समेत बसेका छन् ।

……………

अस्पतालमा डस्टबिनको सुबिधा भए पनि ठाउँ–ठाउँमा गुट्का तथा प्लास्टिकका खोलहरु, औषधिका खाली बोतलहरु अस्पतालको आगनदेखि भित्र वार्डसम्म देखिन्छ । गुट्का, भोला तथा पान खाएर नथुकोस् भन्ने सोचले विभिन्न ठाउँमा भगवानको फोटो पनि टासिएको छ । तर, भगवानको फोटो हुँदा हुँदै पनि मानिसहरुले अझ सिडीको छेउछाउ तिर निकै थुकेको देखिन्छ । दिसा, पिसाब तथा रगत परीक्षण गरिने ल्याबतिर जाने बित्तिकै ह्वास्स दुर्गन्ध आउँछ । त्यस्तो दुर्गन्ध भएको ठाउँमा समेत बिरामी तथा उनीहरुका आफन्तहरु जाँच गर्न र रिपोर्ट लिनका लागि घन्टौँदेखि बसिरहेका हुन्छन् ।

……………….

चिकित्सक र कर्मचारी अधिकांश समय आफ्नै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेकाले कोशी अञ्चल अस्पतालमा चिकित्सक र कर्मचारी सधैँ अभाव खड्किने र लापरवाही हुने गरेको गुनसो सबैबाट सुनिन्छ । व्यवस्थापन राम्रो नभएकैले होला अस्पताल परिसर निकै अस्तव्यस्त देखिन्छ । अस्पतालमा इमरजेन्सी, पोषण, बच्चा, प्रसूती, फिजियोथेरापी, एक्स रे, गाइनो, अपरेसन, हाडजोर्नीलगायत विभाग छन् । अस्पतालको परिसरमा गाडी, बाइक तथा साइकल जताततै अव्यवस्थित तरिकाले पार्किङ गरेर राखिएको हुन्छन् ।

एक्सरे तथा भिडियो एक्सरे गरिने विभागमा बिरामीहरुको चाप निकै देखिन्छ । उक्त ठाउँ निकै साँघुरो भएको कारणले बिरामीहरु बाहिर बस्न बाध्य देखिन्छन् । एक्सरेको रिपोर्ट घन्टौँ पर्खिएर लिनुपर्ने भएकोले कैयौँ बिरामीहरु भवनको बाहिर खुल्ला भुँइमा लम्पसार परिरहेका हुन्छन् । त्यहाँ नजिकै भएको बच्चा विभागमा फाटफुट मात्र बिरामीहरु हुन्छन् । धेरै क्लिनिक तथा अन्य अस्पतालमा राम्रो सेवा पाउने आशमा परिवारले सरकारी अस्पतालभन्दा पनि प्राइभेट अस्पताललाई प्राथमिकता दिएको बुझ्न सकिन्छ । प्रसूती विभाग एकदमै अँध्यारो र गुम्सिने ठाउँमा छन् । जहाँ बस्न सुत्केरीहरुलाई निक्कै गाह्रो भैरहेको अभाष हुन्छ । यहाँ बिरामी भेट्न आएका मानिसहरु एकछिन भेटेर बाहिर टिनको छानामुनि नै बस्न रुचाउँछन् ।

……………….

म्याटरनिटी वार्डमा लेबर पेन भएमा, बच्चाको नर्मल डेलिभरी गर्नु परेमा, अपरेसन गरेर बच्चा जन्माउनु परेमा, गर्भ अवस्थामा रहेका महिलाहरुलाई भिन्दा–भिन्दै वार्ड मा राख्ने गरिन्छ । यस वार्डभित्र  काम गरिरहेका नर्सहरुले सजिलै सूचना प्रदान गर्नका लागि कागजमा बुझ्ने तरिकाले सबै कुरा स्पस्ट लेखिएर टाँसिदिएकोले बिरामी तथा बिरामी भेट्न आएका आफन्तहरुलाई निकै सजिलो बनाएको छ ।

कागजमा लेखिएको पढ्दै जाँदा मात्र पनि विभिन्न कोठा तथा ठाउँहरु सजिलै पत्ता लगाउन सहज भएको हुन सक्छ । तर, उक्त वार्ड निकै अध्यारो, फोहोर तथा दुर्गन्धित छ । बच्चा तथा आमाको स्वास्थ्यलाई यस्तो प्रकारको वातावरणले निकै प्रभावित पर्ने देखिन्छ । एउटै कोठामा धेरै बिरामी तथा बिरामीलाई भेट्न आएका आफन्तहरुले गर्दा सानो ठाउँलाई अझ धेरै साँघुरो बनाइदिएको छ । नवजात शिशुको जन्मपछि पोस्टनेटल वार्डमा बच्चाको हेरचाह तथा बच्चालाई के र कसरी खुवाउने भनेर आमा तथा परिवारको सदस्यलाई नर्सहरुले निकै ध्यानपूर्वक सिकाइरहेका हुन्छन् ।

………………..

छेउमा भएको अपरेसन थिएटरको अवस्था भने राम्रो देखिँदैन । अपरेसन गर्नु परेका बिरामीहरुले लगाएको लुगा निकै फोहोर देखिन्छ । अपरेसन थिएटर बाहिर बिरामी कुरेर बसेकाहरुको अवस्था झनै दयनिय देखिन्छ । एउटा सानो बेन्च मात्र रहेको हुनाले यहाँ कुर्ने मानिसहरुलाई निकै अफ्ठ्यारो भएको देख्न सकिन्छ । कोही भुइँमै बस्न बाध्य छन् भने कोही उभिएर पालो पर्खिरहेका छन् । बिरामीहरुको निकै चाप रहेको ठाउँमा यसरी घन्टौँ बस्दा उनीहरु झन् बिरामी पो हुन्छन् कि ? भन्ने जोखिमको अवस्था छ । अस्पतालमा रहेका प्रायः सबै शौचालयहरु निकै फोहोर र दुर्गन्धित देखिन्छन् ।

…………….

यस अस्पतालको सबभन्दा ब्यस्त ठाउँ हो इमरजेन्सी विभाग । चौबीसै घण्टा रहने यस विभागमा बिरामीहरुको निकै चाप देखिन्छ । यहाँ धेरैजसो सर्पले डसेका, एक्सिडेन्टमा परेका, कुकुरले टोकेका, ड्रेसिङ्ग गर्नु परेमा, पोइसनिङ्ग भएमा, पेट दुखेमा वा अन्य आकस्मिक सेवा प्रदान गरिन्छ । यस वार्डमा भर्खर जन्मेका बच्चाहरुलाई समेत राख्ने गरिन्छ । बच्चाहरुलाई ज्वोरो, झाडा वान्ता भएमा, पेट दुखेमा यहाँ राख्ने गरिन्छ । यस अस्पतालको इमेरजेन्सी वार्ड निकै सानो रहेको छ । यहाँ धेरै बिरामीहरुलाई राखिने भएकोले यहाँ शैयाको निक्कै खाँचो देखिन्छ । बेडको अभावले बिरामी तथा बच्चाहरुलाई अस्पतालको सिँढी तथा भुइँमा समेत राखेर उपचार गरिन्छ । आकस्मिक ग्लुकोज पानी तथा रगत चढाउनसमेत बिरामीहरुलाई उभाएर तथा झ्यालमा बसाएर दिइरहेको देखिन्छ । बिरामीहरु धेरै आउने भएका कारण यस वार्डमा डाक्टर तथा नर्सहरुको भ्याइ–नभ्याइ हुने गर्छ । उनीहरु सधैँ तनावमा देखिन्छन ।

…………….

अलिकभित्र रहेको फिजियोथेरापी तथा कुष्टरोग विभाग अरु विभागभन्दा शान्त र अलिक कम ब्यस्त ठाउँ हो । भवन अलि ठूलो र फराकिलो भएको कारणले यस विभागमा उपचार गर्न आएका बिरामीहरुलाई त्यस्तो दुःख देखिँदैन । तर, बिरामीहरुले पाउनुपर्ने जस्तो सुबिधा गुनासो गर्छन् ।

……………….

यहाँ काम गरिरहेका केहि डाक्टरहरुले आफैँ अस्पतालको बेइज्जत गरिरहेको समेत बिरामीहरुबाट सुन्नमा आउँछन् । विराटनगरकै सबैभन्दा पुरानो मानिने कोशी अञ्चल अस्पतालका डाक्टरहरुले आफ्नो क्लिनिकमा बिरामी पठाउने गर्दा रहेछन् । डाक्टरले अस्पतालमै हुन सक्ने जाँच अस्तालमा सम्भव नभएको र आफ्नो क्लिनिक गएर उपचार गराउन बिरामीका आफन्त र स्वयं बिरामीलाई समेत भन्दारहेछन् ।

…………….

प्रदेश १ कै सबैभन्दा पुरानो स्वास्थ्य धरोहरको रुपमा रहेको विराटनगरको हस्पिटल रोडमा अवस्थित कोशी अञ्चल अस्पतालले आफ्नै इतिहास बोकेको छ । चालिस वर्षअघि निर्माण भएको सो अस्पताल बिरामीहरुको उपचार र स्वास्थ्य परीक्षणका लागि बनाइएको थियो । स्थापना कालदेखि नै बिरामीले भरिभराउ हुने अस्पतालमा पछिल्लो समय बिरामीहरुको संख्या र स्वास्थ्य गुणस्तर केही खस्किएको देखिएको छ । स्थापना कालदेखि नै कोशी अस्पतालमा स्वास्थ्य जाँचका लागि पूर्वाञ्चल, अन्य अञ्चलका तथा भारतबाट समेत बिरामीहरु आउने गरेको देखिन्छ । तर, बढ्दो जनसख्या र रोगव्याधले गर्दा जतिसुकै भिड हुँदा वा भुइँमै बस्नु परे पनि बिरामीहरुको संख्या भने कम भएको छैन । विभिन्न रोगले ग्रस्त भएका कारणले होस् वा भर्खरै मात्र खुलेका केही नयाँ स्वास्थ्य सेवाका कारणले अस्पतालमा अझ बिरामीहरुको संख्या बढ्ने क्रम जारी रहेको छ । महानगरले अस्पताल र आसपासको क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेतापनि अस्पतालको फोहरमैला अझैसम्म पनि राम्ररी व्यवस्थापन भएको छैन । अस्पताललाई सफा र ब्यवस्थित बनाउनका लागि हरेक विभागले आफैँ चासो दिएको पाइँदैन ।

………..

कोशी अञ्चल अस्पताल प्रशासनका अनुसार यहाँ दैनिक इण्डोर र आउटडोरमा जम्मा एक हजार पाँच सयसम्म बिरामीले सेवा लिँदै आइरहेका छन् । यो अस्पताललाई अहिले प्रदेश १ कै ठूलो सरकारी अस्पताल भनेर पनि चिनिन्छ । सरकारी अस्पताल भएका कारण सेवा शुल्क पनि कम लाग्ने तथा विशेष सरकारी छूटमा उपचार हुने भएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी अस्पतालमा बढी आउने गरेको पाइन्छ ।

कोशी अञ्चल अस्पताललाई सुधार गर्ने विभिन्न अभियानहरु समेत समय–समयमा थालिने गरिन्छ । विराटनगर महानगरपालिका तथा विभिन्न समाज सेवामा लागि परेका युवाहरुले अस्पतालको आसपासको क्षेत्रमा सरसफाइ गरिरहेको देखिन्छ । अस्पतालमा फोहोरमैला व्यवस्थापन, भौतिक संरचना निर्माण आदिमा धेरै सुधार गरेको भनिएपनि अस्पतालको हालत जस्तो को त्यस्तो नै देखिन्छ । यसैले यो अस्पताललाई सुधार गर्नका लागि महानगरपालिका, अस्पतालका डाक्टर तथा कर्मचारी, बिरामी, नागरिक समाज सबैजना मिलेर उपचार सेवाको गुणस्तर बृद्धि गरी अस्पतालको सरसफाइ र फोहोरमैला व्यवस्थापनमा मद्दत गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...