fbpx

मृत्यु भयाे भन्दै खाल्डाेमा हालिएका शिशु चल्मलाएपछि….

चितवन । शिशुको मृत्यु भएपछि आफन्त र गाउँलेहरु मलामी आए । देवघाटमा नवजात शिशुको अन्त्येष्टिकालागि खाल्डो खनियो । खाल्डोमा मृत शिशुलाई हालेपछि माटोले पुर्ने तयारी हुँदै थियो । तर  खाल्डाेमा हालिएका शिशु एक्कासी चलमलाए । शिशु चलमलाएपछि खाल्टोबाट निकालेर चितवन मेडिकलक कलेज लगिएको छ । घटना शुक्रबारको हो ।

बिहिबार चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशु जन्माएकी थिइन् । तर जुम्ल्याहा बच्चा मध्ये एक बच्चाको तत्कालै मृत्यु भएको थियो । अर्का बच्चालाई लिएर आफन्तहरु घर तर्फ लागेका थिए ।  शुक्रबार अर्काेपनि बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अन्त्यष्टीकालागि लगेका थिए ।

शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको  हाे । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।

मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि पुरिएका अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको  छ ।

अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित अवस्थामा थिए । रासस

प्रतिक्रिया

Loading...