fbpx

ग्रामीण पर्यटनका ‘क्रस बोर्डर’ अभियन्ता

ग्रामीण पर्यटन र वातावरणमा विद्याबारिधी (पीएचडी) गरेर भारत सरकारको उच्चतहको जागिर छाडेका राज बसु (५७) अनि नेपाली सेनाको जागिर छाडेर चिया खेतिमा सहभागी भएर पर्यटनको विकासमा लागिपरेका नेपालका अर्जुन कार्की (५०) दुवैको राष्ट्रियता र जाति अलग हो ।

turishm

बसु भारतीय बंगालीमुलका हुन् र पश्चिम बंगालको दार्जिलिंग जिल्लास्थित सिलिगुडीमा बस्छन् । अनि अर्जुन नेपालीमुल खसआर्य हुन र झापाको मेचीनगर नपा ४ बाहुनडाँगीमा बस्छन् । भाषा दुवैको फरक छ बसु बंगाली र अर्जुन नेपाली बोल्छन् । धेरै कुराहरुले उनीहरु भिन्न भएपनि उनीहरुबीचमा एउटा सोचमा समानता छ, त्यो हो ग्रामीण पर्यटनको विकासमा नेपाल र भारतमा बोर्डर हुनु हुँदैन अनि मात्र दुवै देशको पर्यटन व्यवसाय फस्टाउन सक्छ भन्ने ।

……………………………..

अर्जुन र बसु दुवै सादा जीवनका धनी हुन् । अझ बसु त करोडपतिका छोरा भएपनि आफूलाई पुरै सर्बहाराकरण गरेर जीवन जिउने अभियानमा लागेका छन् । तडकभडकबाट उनी परै भाग्छन्, खुटामा सधैँ चप्पल मात्र लगाउँछन् । समान्य खाना खान्छन् । यता, निम्न वर्गीय परिवारका अर्जुनले मेची नपा बाहुनडाँगीमा रहेको १० बिगाहा पाखो बारीमा चिया खेति गरेका छन् । र, त्यही उनले मरिचको खेति पनि थालेका छन् । हात्ती आतंकले आजित बनाएको बाहुनडाँगीमा हात्ती पोलो रेष्टुरेन्ट सञ्चालन गरेर हात्ती हेर्ने पर्यटकलाई आर्कर्षित गराउने उनै हुन् । उनी निरन्तर पूर्वी नेपालको ग्रामीण पर्यटनका लागि सक्रिय छन् । आजकल उनको दायरा बढेर इण्डो नेपाल नेटवर्कमा रहेको ‘एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिज्जम’को महासचिवसम्म पुगेको छ । यो फोरमले हाल पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामीण पर्यटनको विकासका लागि साझा–धारणा तैयार गराउन निरन्तर वकालत गरिरहेको छ ।

उता, वतावरण विषयमा विद्याबरिधी गरेका डा. बसुले पनि आफ्नो सबै काम पत्नीलाई जिम्मा लगाएका छन् । उनकी पत्नीले सिलिगुडिमा निजी स्कूल र एउटा पर्यटकीय होटल सञ्चालन गर्छिन् । विज्ञ बसु चाँही पश्चिमबंगाल, सिक्किम, असम, भुटान र बंगलादेश अनि नेपालका विभिन्न क्षेत्रका ग्रामीण पर्यटकीय क्षेत्रहरु भ्रमण गर्नमै व्यस्त हुन्छन् । नेपालमा भएका धेरै राष्ट्रिय महत्त्वको महोत्सव र गोष्ठिहरुमा उनले सहभागिता जनाइसकेका छन् ।

……………………………..

बसु र अर्जुन दुवैजना पूर्वी नेपाल पूर्वोत्तर भारतको ग्रामीण पर्यटनको विकासका लागि निर्माण गरिएको इण्डो नेपाल ग्रामीण पर्यटन सञ्जालमा सँगै आवद्ध छन् । जसलाई ‘एसोसिएसन अफ कन्भजरभेसन एण्ड टुरिजम’ नाम दिइएको छ । बसु संयोजक छन् भने अर्जुन महासचिव छन् । यो सञ्जालमा अरु पद छैनन् । उक्त सञ्जालको काम नेपाल र भारतको ग्रामीण पर्यटनको विकासका लागि आपसमा सहजता प्रदान गर्नु, अन्तक्रिया कार्यक्रमहरु सञ्चालन गराउनु, अनुभव आदानप्रदान गर्नु र दुवै देशको ग्रामीण पर्यटनको विकासका लागि वकालत गर्नु हो ।

बसुले शानले सरकारी जागिर खाएर अनि आफ्नै व्यवसाय चलाएर जीवन गुजार्न सकिने भएपनि उनले त्यो बाटो रोजेनन् । बरु फकिरझैँ घुमन्ते बने । यता नेपाली सेनामा जागिर खाएर पेन्सन लिएर बढुवा पाएर आरामको जीवन गुर्जान सक्ने भएपनि अर्जुनले आफ्नो लक्ष्य नभेटिएपछि लोभ लागेन । अर्जन सितेरियो कराँतेका नाम चलेका प्रशिक्षक पनि हुन् । तर, उनले सबै छाडेर आफनो कर्म व्यवसायीक कृषि खेति र ग्रामीण पर्यटनमै अर्पण गरेका छन् । जसको लाभ उनले नामबाट पाउन थालिसकेका छन् । अर्जुन प्रकृति संरक्षण समाजको अध्यक्षभएर ८ वर्ष चले । त्यसपछि पढेका युवाहरुलाई गाउँमै आर्कषित गर्नुपर्छ भन्ने अभियानले ग्रीन जेनेरेसन झापा नामको संस्थाको संस्थापक अध्यक्ष पनि बने । उनी बाहुनडाँगीको पहिलो चियाकृषक पनि हुन् ।

उनले जोखिम मोल्नुभन्दा पहिले बाहुनडाँगाीको आमडाँगी क्षेत्रमा चियाकृषक नै थिएनन् । जब उनी सफल भए तब अहिले चिया खेति गर्ने साना कृषकहरु ह्वात्तै बढेका छन् । अर्जुन तीनै व्यक्ति हुन् जसले हात्तीले सुपारी खेति नष्ट गर्न थालेपछि विकल्पमा तेजपत्ताको खेति गर्न थाले । जसले गर्दा आजकल वार्षिक लाखौँको तेजपत्ता भारत निर्यात हुन सकेको छ । अर्कोतिर मरिच र कागतीको खेतिलाई पनि उनले बढावा दिइरहेका छन् । अर्जुन तीनै युवा हुन् जसले कञ्चनजंघा ल्याण्डस्केपमा झापाको बाहुनडाँडी, शनिश्चरे, बुधबारे क्षेत्रलाई पार्न सफल भएका छन् । उनकै प्रयासले सलकपुर क्षेत्रमा होमस्टे सञ्चालन भैरहेका छन् ।

…………………………..

प्राचीनकालमा नेपाल र भारतमा कुनै बोर्डर थिएन । हिमालय क्षेत्रमा धेरै गुरुकुलहरु थिए । दुवै देशका मानिसहरु आवत–जावत गरेर शिक्षा लिने गर्दथे । नेपाल–भारतको उच्च पहाडी क्षेत्रबाटै हो त्योबेला मानिसहरु हात्ती–घोडामा आवत–जावतगर्ने गर्दथे । जसले गर्दा संस्कृतिले बिस्तार हुने मौका पाएको थियो । पर्यटन अभियान्ता बसु त्यही सौहार्दतालाई फर्काउन चाहन्छ । जुन ग्रामीण पर्यटनको विकासबाट मात्र सम्भव छ । विज्ञ बसु भन्छन्, ‘गुराँस, हात्ती, हिमालय, चरा, संस्कृति र ट्रेकिङ पूर्वी नेपाल र पुर्वोत्तर भारतको ग्रामीण पर्यटनका साझा प्याक्टर हुन् यसलाई साझा रुपले बिक्री गर्न सक्नुपर्छ ।’

ग्रामीण पर्यटन विकासका लागि क्रस बोर्डर अभियान्ताहरु अर्जुन र बसु भन्छन्, ‘पर्यटनमा बोर्डर हुनु हुँदैन अनि मात्र फस्टाउँछ । यसको अर्थ राष्ट्रको सीमाना हुनु हुँदैन भनिएको हैन । अर्थ हो दुवै देशहको ग्रामीण क्षेत्रमा खास–खास समानता छन् यसैले साझा कुरा पत्ता लगाएर आपसमा आदान–प्रदान गर्नु हो । जस्तो पूर्वी नेपालको हात्ती समस्या भारतको पीश्चमबंगाल र असामको पनि समस्या हो । पूर्वी नेपालको भाषा संस्कृति र परम्परात, सिक्किम बंगाल र असामको पनि संस्कृति हो । पर्यटनमा धेरै समानता भए पनि साझा धारणा बन्न नसक्दा धेरै सम्पदा र संस्कृतिहरु लोप भएर गैरहेका छन् । यसैले त्यसलाई जोगाउन सकेमात्र ग्रामीण पर्यटनको विकास हुनेछ ।

अर्कोतिर समस्यालाई पनि पर्यटनका रुपमाबिकास गर्न सकिन्छ । यसैले अर्जुनले हात्ती हेर्नेका लागि बाहुनडाँगीमा हात्ती रिर्सोट खोलेका हुन् । जब गैँडा र गोही हेर्नेकै लागि लाखौँ पर्यटक नेपाल आउन सक्छन् भने हात्ती हेर्ने किन आउन सक्दैनन् । यस्तै नेपालमा बसोबास गर्ने आदिबासी जनजाति र भारतको सिक्मिम पश्चिमबंगाल र असाममा बस्ने आदिबासी जनजातिहरुको भाषा संस्कृति अध्ययन गर्न पर्यटनकहरु किन आउन सक्दैनन् । बसु र अर्जनको दाबी छ, ‘सही सूचना प्रवाह गर्न सके नेपाल र भारतको ग्रामीण पर्यटनको विकासका लागि सम्भावनै सम्भावना छ । मात्र त्यसका लागि दुवै देशले निसंकोच सहकार्य गर्नुपर्छ । ’

……………………

ग्रामीण पर्यटनका लागि होमस्टेलाई प्रवद्र्धन गर्नुपर्नेमा बसु र अर्जुनको जोड छ । ग्रामीण क्षेत्रका लाखौँ करोडौँ खर्चेर होटल रिर्सोट सञ्चालन गर्न पनि गाह्रो हुने र गरे पनि मुनाफा पाउने गरी सञ्चालन गर्न सम्भव हुँदैन । यसैले पर्यटकलाई सहज रुपमा सस्तो र दीगो बसोबासका लागि होमस्टे प्रभावकारी हुनेछ । उनीहरुका अनुसार होमस्टेमा बस्दा स्थानीयको संगतबाट बढीभन्दा बढी सूचना पाउन सकिने भएकोले आफ्नो अध्ययन अनुसन्धानमा धेरै फाइदा पनि हुन्छ ।

पूर्वी नेपाल र पश्चिम सिक्किममा विश्वमै चिनिएको फूल लालीगुराँस पाइन्छ । याक र चौरी पनि हुन्छन् । खानपान र रहनसहन पनि एकै खालेको छ । ट्रेकिङको साझा रुट पनि छ किनभने कञ्चनजंघा हिमाल नेपाल–भारत दुवैतिर पर्छ । अर्को हात्ती समस्या दुवै देशमा छ । चरा र चिया दुवै देशका सम्पत्ति हुन् । अलैँची दुवै देशमा उत्पादन हुन्छ । भाषा, संस्कृति र रहनसहनमा धेरै समानता छन् । यति धेरै साझा फ्याक्टरहरु भएपछि किन पर्यटनमा सहकार्य नगर्ने ? अर्कोतिर नेपाल र भारतमा पर्यटनका लागि खासै बाधा छैन । मुद्रा, आवागमनदेखि भाषा र संस्कृति अनि खानपानमा पनि समस्या छैन । यसैले यसलाई बढावा दिन सकेमा नेपाल र भारतको ग्रामीण पर्यटनमा तेस्रो मुलुकबाट पर्यटन बोलाइ रहन नपर्ने उनीहरुको भनाइ छ । बसु भन्छन्, ‘घुम्नका लागि सिमला र नैनीताल जाने बिहारीहरु नेपालमा पूर्वीपहाडी जिल्लाहरु किन नजाने अनि नेपालीहरु बंगाल र सिक्किमका रमणीय स्थलहरुमा किन नपुग्ने ?

……………………………..

ग्रामीण पर्यटन फस्टाउन नसक्नेमा दुवै देशका संकिर्ण सोचलाई उनीहरु दोष दिन्छन् । नेपालमा पोखरा, चितवन र लुम्बिनी मात्र पर्यटकीय स्थल हुन् भन्ने प्रचार गरेर लगानी गरिएको छ । तर, त्यो सही होइन, लगानी गरेमा पूर्वीनेपालको तीनजुरे मिल्के जलजले, मकालु, कञ्चनजंघा, सन्दकपुर, पाथीभरा सबै विशेष पर्यटकीय क्षेत्र हुन् । यस्तै सिक्मिकको देन्ताम, नाम्ची, गान्टोक पनि पर्यटकीय क्षेत्रहरू हुन् । बंगालको कालिम्पोङ, दार्जिलिङ पनि पर्यटकीय क्षेत्र हुन् । तर, त्यो शहर हैन ग्रामीण केन्द्रित हुनुपर्छ । यसो भएमा ग्रामीण आयआर्जन बढ्ने र आर्थिक अवस्था पनि सवल हुने विश्वास उनीहरुको छ ।

…………………………..

बसु र अर्जन चाहन्छन् अब नेपाल र भारतका राज्य सरकारहरु यसमा गम्भीर बनुन् । र, आपसमा सहकार्य गरुन् । यसका लागि अर्जुनले चाँडै विराटनगरमा अन्तर्राष्ट्रिय ग्रामीण पर्यटनका लागि कार्यशाला गराउने सोच बनाएका छन् । बसु पनि के कम नेपालको आउटपुट पाएपछि सिक्किम र बंगाल अनि असम सरकारसँग प्रस्ताव राख्ने गर्ने तरखरमा छन् । बसुका अनुसार ग्रामीण पर्यटनमा पनि धेरै लगानी बढाउन सकिन्छ । ठूला–ठूला योजना सञ्चालन गर्न सकिन्छ । तर, त्यसका लागि पैसाको सहज आवतजावतका लागि सरकारी पहलको आवश्यकता छ । पैसा ल्याउने लाने सजिलो माध्यम भए दुवै देशको पर्यटनमा लगानी बढ्ने छ ।

प्रतिक्रिया

one + five =

Loading...