fbpx

बर्ड फ्लूको संक्रमणबाट यस्ता छन् बच्ने उपाय

विराटनगर ।

बेलाबेलामा देशका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिदाँ निकै त्रास फैलिने गर्छ । चराबाट मानिसमा सर्ने रोग बर्ड फ्लूले महामारी फैलिदाँ मानिसको ज्यान समेत लिन सक्छ । तर, पछिल्लो समय मानिसबाट पनि मानिसमा बर्ड फ्लू सरेको पाइएपछि बैज्ञानिक तथा चिकित्सकहरु पनि निकै चिन्तामा रहन थालेका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले छिमेकी मुलुक चीनमा मानिसबाट पनि मानिसमा बर्ड फ्लूको संक्रमण फैलिएको पाइएको जानकारी दिए । उनले बर्ड फ्लूको संक्रमणबाट जोगिनका लागि सुरक्षात्मक उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । डाक्टर पुनले बर्ड फ्लूको संक्रमणबाट जोगिनका लागि कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्ति, बेच्ने व्यक्ती तथा पकाएर खाने व्यक्तिलाई सुझाव दिएका छन् ।

कुखुरा तथा पंक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सरसफाईमा विशेष ध्यान दिनुका साथै कुखुराहरु मर्न थालेमा वा बिरामी पर्न थालेमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्न आग्रह गर्दै उनले सचेत हुन भनेका छन् । साथै, हरेक व्यक्तिले खोरमा जादाँ माक्स लगाएर मात्रै जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने, बिक्रेताहरुलेपनि मास्क र पन्जा अनिवार्य लगाउने गर्नु पर्ने उनको भनाई छ ।

बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने, बिरामी वा मरेको पक्षीलाई नछुने, कुखुरा र पंक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पंक्षीको भाँडाकुँडालाई दिनहुँ सफा गर्ने, खोरलाई समय समयमा सफा गरेर राख्नु पर्छ । आधा पाकेको अण्डा खादा समेत बर्ड फ्लूको संक्रमण हुन सक्ने भएकोले अण्डालाई खानु अगाडी राम्रोसँग उमालेर मात्रै खाने गर्नु पर्छ ।

मासु पकाउने बेलामा एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने गर्नु पर्छ । एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्ड फ्लू सर्ने सम्भावना हुँदैन । मासु पकाउने बेलामा मज्जाले सफा गरेर पकाउन जरुरी हुन्छ ।

प्रतिक्रिया

Loading...