fbpx

हत्याको सुपारी लिएर खुलेआम नेपाल आउँछन् भारतीय सुटर (भिडियोसहित)

मोरङ,
खुल्ला सीमा र फितलो चेकजाँचको फाइदा उठाउँदै पैसा लिएर व्यक्ति हत्या गर्ने सुटरहरु खुलेआम नेपाल भित्रिने गरेको पाइएको छ । गत जेठ २७ गते विराटनगरका व्यापारी जितेन्द्र रायलाई गोली हानेर हत्या गर्न भारतको सीतामढीबाट कुलानकुमार र राजुकुमार रौतहटको गौर हुँदै विराटनगरसम्म आएको प्रहरी अनुसन्धानबाट खुलेपछि अझै भारतीय सुटरहरु सहज रुपमा व्यक्ति हत्याको सुपारी लिएर नेपाल आउने गरको पाइएको हो ।

नेपालीलाई गोली हानेर हत्या गर्र्न पाँच लाखको सुपारी पाएपछि कालो सेट लुगा, दुईवटा पेस्तोत र सात राउण्ड गोली बोकेर रौतहतको गौर नाका हुँदै उनीहरु विराटनगर आइपुगेका थिए । सार्वजनिक बसमा करिब २ सय ८० किलोमिटरको दूरी पार गर्दा ठाउँ–ठाउँमा प्रहरी चेक पोष्टहरु छन् । तर, दुईजना सुटर खुलेआम पेस्तोल बाकेर विराटनगर आउँदा उनीहरु प्रहरी र राष्ट्रिय अनुसन्धानका गुप्तचरहरुको नजरमा पर्न सकेनन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी कुलान र राजुभन्दा एक दिनअघि राकेश विराटनगर आएको हुनसक्ने बताउँछन् । सीतामढीमा हत्या गर्ने योजना बनेपछि गौर हुँदै भित्रिएका सुटरले हतियार बोकेर आएको उनको भनाइ छ ।

विराटनगरका खाद्यान्न व्यापारीको हत्याका लागि पाँच लाख भारतीय सुपारी लिने सुटर राकेश झा भारतमा मोष्ट वान्टेड अपराधी हुन् । भारत बिहार राज्यको सीतामढी जिल्ला घर भएका झा १० वटाभन्दा बढी ठूला लुटपाटका घटना र स्थानीय नेताको हत्यामा संलग्न भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय पत्रिका जागरण दैनिकले उल्लेख गरेअनुसार झा सीतामढीका चर्चित गुण्डा हुन् । स्थानीय नेता राजीव गौतमको हत्यामा उनको संलग्नता रहको छ । हत्याको सुपारी लिएर जेठ तेस्रो साता विराटनगर आएका झाले व्यापारी रायलाई गोलीप्रहार गर्न पटक–पटक घर आसपास रेकी गरे ।

गोली प्रहार गरी फरार हुन सहज देखेपछि मन्नुसँग डिल गरेर सुटर खोज्न पुन सीतामढी फर्किएका थिए । सीतामढीकै कुलानकुमार सिंह र राजुकुमार रौनियारलाई पाँच लाखमा डिल भएको र भारु १ लाख ६७ हजारका दरले तीनभाग लगाएर बाँड्ने उनीहरुको सहमति थियो ।

विराटनगर आउँदा बन्दोबस्तीसहित कुलान र राजु रौतहटको गौर हुँदै विराटनगरतर्फ लागे । राकेशपनि जोगवनीको बाटो हुँदै विराटनगर आएका थिए । जेठ २६ गते बेलुका तीनजनाले नै जितुको घरको रेकी गरे । जेठ २७ गते बिहान गोलीप्रहार गर्न राजुकुमार र कुलानलाई निर्देशन दिएर भारत लागेका झा अझै फरार छन् ।

गोलीप्रहार गरेको आधा घण्टाभित्र बोर्डर पार गर्ने र सीतामढीमा पैसा बाड्ने उनीहरुको योजना थियो । तर, जेठ २७ को योजना असफल भएपछि प्रहरीले होटलमा मदिरा सेवन गर्न बसेका कुलानलाई पक्राउ गरेर उनीहरुको योजना तुहाउन सफल भयो ।

संगठित अपराधमा मुद्दा चलाउन मोरङ प्रहरीले झालाई खोज्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ । तर, भारतीय प्रहरीले नै झालाई मोष्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको छ । गत असोज ४ गते हरिनगर गाउँपालिका २ को व्यस्त बजार भुटाहामा स्थानीय ५० वर्षीय खुर्सिद आलम अन्सारीको गोली हानी हत्या भएको थियो ।

उनको हत्याका लागि भारतबाट दुईवटा माटरसाइकलमा चारजना सुटरहरु आएका थिए । हत्या भएको १५ मिनेटमा बोर्डर पार गरेका सुटरको अझै पहिचान खुलेको छैन् । आठ महिनामा भएका दुईवटा घटनाले भारतबाट सहजै रुपमा हतियार बाकेर सुटरहरु नेपाल आउने तथ्यलाई पुष्टी गर्छ ।

विराटनगरका व्यापारी रायको हत्या गर्ने भारतीय सुटरको योजना प्रहरीले बिफल बनाउन सफल भएपनि खुला सीमाका कारण अपराधिक घटना हुन सक्ने खतरा टरेको छैन् । प्रहरीले प्रशासनले थप सर्तकता अपनाउनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

Loading...