fbpx

तयारी क्रिकेट पिच स्तरोन्नतीको नाममा २६ लाख स्वाहा, पिच बन्यो पोखरी, छानबिन गर्न सांसदको माग !

मोरङ,
निजी क्षेत्रले मर्मत गरी बनाएको क्रिकेट पिच पुनर्निर्माणका नाममा प्रदेश सरकारको २६ लाख बजेट स्वाहा भएको छ । पहिलो महिला क्रिकेट लिग विराटनगरमा आयोजना गर्ने तयारी भएपछि एनसिएल स्पोर्ट प्रालिले बैजनाथपुर क्षेत्रीय रंगशालाको क्रिकेट पिच बनाएको थियो ।

वैशाखका आयोजना गर्ने भनिएको लिगका लागि फागुन अन्तिम साता पिच तयार भएको थियो । तर, विराटनगरबाट लिग काठमाडौं सारियो । क्रिकेट लिगका लागि तयार भएको मैदानको पिच खनेर पोखरी बनाउँदा प्रदेश सरकारको २६ लाख स्वाहा भएको हो ।

khel maidan
गत फागुनमा एनसीएल लिगका लागि पिच निर्माण गर्दै मजदूर

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्षेत्रीय रंगशाला निर्माणका लागि ८५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटमध्ये पिच बनाउनका लागि ४३ लाख छुट्याइएको थियो । विनियोजन बजेटमध्ये उपभोक्ता समितिले काम नगरी २६ लाख भुक्तानी लिएको छ । निजी क्षेत्रले करिब २० लाख लागतमा निर्माण गरेको पिच भत्काएर पोखरी बनाएको उपभोक्ता समितिले काम सम्पन्न गरेको भन्दै २६ लाख भुक्तानी लिएको हो ।

नेपाली काँग्रेसकी सांसद  नवोदिता चौधरीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट निकाशा भएको बजेटमा क्रिक्रेटको मैदान बनाउनका लागि निकासा भएको रकममा हदैसम्म भ्रष्टचार भएको पाइएको बताइन् । उनले क्रिक्रेट पिच बनाउनका लागि दुई लाखको काम गरेर २६ लाख रुपैयाँ भ्रष्टचार गरेको खुलिसकेकोले दोषीलाई छानबिन गरेर कार्वाही गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभामा बोल्दै सांसद चौधरीले भनिन्, ‘सिँगो प्रदेशलाई नै बदनाम गराउने यो अति लज्जास्पद घटना हो । यसैले चाडो छानबिन गरेर कार्वाही गरियोस् ।’

मध्य असारमा पिच खनेर छाडेका कारण सातौं राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको मैदानको पिच माछा पोखरी बनेको छ । खेल्न योग्य अवस्थामा रहेको पिचलाई करिब २ फुट गहिरो पोखरी बनाएर छाडिएको हो । तर, उपभोक्ता समितिले कागजी रुपमा काम पूरा गरेको छ ।

एनसीएलले महिला लिगका लागि भारतबाट प्राविधिक टोली बोलाएको थियो । भारतीय टोलीको प्रत्यक्ष निगरानीमा पिच बनाएको थियो । ‘पिच बनाउँदा र प्याराफिट बनाउँदा हाम्रो २० लाख हाराहारी खर्च भयो होला ।’ आयोजक संस्था एनसिएल स्पोर्टका एक सदस्यले भने, ‘तर लिगका लागि समय जुधेका कारण विराटनगरमा गर्न सकिएन् ।’

तयारी अवस्थामा रहेको पिच निर्माणका लागि भन्दै प्रदेश सरकारले ८५ लाख निकाशा गरेको थियो । जस ४२ लाख उपकरण खरिदमा खर्च भएको छ । पिच निर्माणका लागि बिनियोजन भएको रकममध्ये २८ लाख काम नगरी भुक्तानी भएको हो ।

एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर रंगशालाको क्रिकेट पिच निर्माण अनियमितता भएको प्रष्ट देखिन्छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य कार्यालय मोरङले काम सम्पन्न भएको प्राविधिक प्रतिवेदन पाएपछि स्वास्थ्य कार्यालयले भुक्तानी दिएको हो ।

अध्यक्ष भन्छन्ः असरमा पानी पर्छ जस्तो लागेको थिएन

प्रदेश सरकारले प्रदेश १ का सबै स्थानीय तहकालागि खेदकुदको भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको थियो । क्षेत्रीय रंगशालाहरुलाई २० देखि ८५ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत आर्थिक वर्ष प्रदेश एकका सबै स्थानीय तहहरुका लागि बजेट बिनियोजन गरेको थियो ।

maidan

बजेट बिनियोजन भएपछि क्षेत्रीय क्रिकेट रंगशाला निर्माणका लागि नवीन घिमिरेको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो ।उपभोक्ता समितिका अध्यक्ष घिमिरे असारमा पानी परेका कारण काम गर्न नसकिएको बताउँछन् । ‘असारमा पानी पर्छ जस्तो लागेको थिएन्,’ उनले भने, ‘पानी परेका कारण काम रोकियो ।’ भदौदेखि पुनः निर्माणको काम अघि बढाउने उनले बताए ।

गुणस्तरीय क्रिकेटको पिच निर्माणको समितिसँग गत जेठमा मन्त्रालयले सम्झौता गरेको थियो । सम्झौतापछि १०–१५ वर्षसम्म टिक्नेगरीको पिच बनाउने घिमिरेले दाबी गरे ।

एनसीएलले काम पूरा गरेन

उपभोक्ता समितिका अध्यक्ष घिमिरे महिला लिग आयोजनाको तयारी गरेको एनसीएलले पिच निर्माणको पूरा काम नै नगरेको बताए । ‘महिला लिगका लागि आयोजकले कालोमाटो प्रयोग गरेर पिच बनाएको थियो,’ उनले भने, ‘तर पूरा भएको थिएन् ।’ क्रिकेट पिचलाई दीगो बनाउन उदयपुर र बर्जु तालबाट कालो पहेँलो र रातो माटो ल्याउने तयारी भएको उनले बताए । तीन खालको माटो प्रयोग भएपछि पिच १०–१५ वर्ष टिक्ने उनको दाबी छ ।

प्राविधिक प्रतिवेदनका आधारमा भुक्तानी

प्रदेश १ सरकारले खेलकुदको बजेट खर्च गर्ने संयन्त्र छुट्याएको छैन् । १४ वटै जिल्लामा छुट्याइएको बजेट कार्यन्यन गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको थियो । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत प्राविधिक प्रतिवेदनका आधारमा भुक्तानी गरिएको बताउँछन् । ‘खेलकुदको काम हेर्न हामीसँग दुईजना इन्जिनियर करारमा हुनुहुन्छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा भुक्तानी भएको हो ।’

छानबिन गर्न सांसदको माग

विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिचबेस बनाउँदा लाखौँको अनियमितता भएको भन्दै छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।

netri

एक नम्बर प्रदेशसभाको २४ साउनको चौथो अधिबेशनको ३२औँ बैठकको शून्य समयमा बोल्दै सांसद नवोदिता चौधरीले प्रदेश सरकारको बजेटमा क्रिक्रेटको पिचबेश बनाउन भन्दै हदैसम्मको भ्रष्टचार भएको भन्दै छानबिन गर्न माग गरेकी हुन् ।

नेपाली काँग्रेसकी सांसद चौधरीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट निकाशा भएको बजेटमा क्रिक्रेटको मैदान बनाउनका लागि निकासा भएको रकममा हदैसम्म भ्रष्टचार भएको पाइएको बताइन् । उनले क्रिक्रेट पिच बनाउनका लागि दुई लाखको काम गरेर २६ लाख रुपैयाँ भ्रष्टचार गरेको खुलिसकेकोले दोषीलाई छानबिन गरेर कार्वाही गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभामा बोल्दै सांसद चौधरीले भनिन्, ‘सिँगो प्रदेशलाई नै बदनाम गराउने यो अति लज्जास्पद घटना हो । यसैले चाडो छानबिन गरेर कार्वाही गरियोस् ।’

प्रतिक्रिया

Loading...