fbpx

रंगशाला निर्माणमा अनियमितता: कागजमा काम सकियाे, मैदानमा माछा पाेखरी ! (भिडियोसहित)

रंगेली । प्रदेश सरकारले निर्माण गरेको क्रिकेट रंगशालामा आर्थिक अनियमिता भएको पाइएको छ । एक नम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको बजेटमा विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर रंगशालाको क्रिकेट पिच निर्माण अनियमितता भएको पाइएको हो ।

बैजनाथपुर क्षेत्रीय रंगशालामा क्रिकेट पिच निर्माणको कामै सम्पन् नभइ २६ लाख रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिइएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य कार्यालय मोरङले कामै सम्पन्न नभएको योजनामा पूरा रकम भुक्तानी गरेको हो ।

उपभोक्ता समितिले काम सकिएको कागज पेस गरेपछि भुक्तानी पाएका हुन् । तर मैदानकाे बास्तबिकता भने फरक छ । प्रदेश सरकारले काम सकियो भनेर बजेट निकास गरेपनि पिच बनेको छैन् । उपभोत्ता समितिले काम नगर्दा रंगशालाको पिच माछा पोखरी जस्तै बनेको छ ।

गत जेठमा पिच निर्माणको काम मन्त्रालायले उपभोक्ता समितिलाई दिएको थियो । जसको अध्यक्ष नविन घिमिरे हुन् । मन्त्रालयले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि ८५ लाख रुपैयाँ निकासा गरेको थियो । जस अन्तरगत ४३ लाख रुपैयाँ मैदान निर्माणकालागि छुटयाइएको थियो । जसमा क्रिकेटको पीच बेस निर्माण गर्न छुट्याइएको २८ लाख ६२ हजार रुपैयाँ काम सम्पन्न नगरी भुक्तानी गरिएको हो ।

उपभोक्त्ता समितिले भौतिक निर्माण सम्पन्न गरेको भनेर जनस्वास्थ्य कार्यालयमा बिल भौचर पेश गरेर रकम लिएको छ । काम पुरा गरेकाे काजग पेस गरेपनि रंगशालको पिचबेस बनाउन खाल्डो मात्र बनाइएको छ ।

आर्थिक वर्षको अन्तिममा खनिएको खाल्डो परेको पानीका कारण पोखरी बनेको छ । समितिले फाउण्डेशन निर्माणको सामान्य काम मात्र गरेको छ । बिभिन्न प्रकारको गुणस्तरिय माटो हालेर खाल्डो पुरेर पिच निर्माण गर्नुपर्ने भएपनि काम नगरी भुक्तानी लिनुले निर्माण कार्यामा अन्यमितता भएको प्रष्ट हुन्छ ।

मन्त्रालयले बैजनाथपुर रंगशालामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन आवश्यक सामग्री र पिच निर्माणकोलागि दिएको ८५ लाख बजेटबाट रोलर ,ग्रासकटर लागयतका अन्य उपकरण खरिदमा ४२ लाख विनियोजन भएको मन्त्रालयका सुचना अधिकारी बलराम पराजुलीले जानकारी दिए । जसमा पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको उनी बताउँछन् ।

उपभोक्ता समितिले २८ लाख ६२ हजार ३ सय ६१ रुपैयाँ भुक्तानी लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । समितिले कन्टेन्जेन्सी तथा उपभोक्ता सहभागिता रकम कट्टा गरेर २६ लाख ९४ हजार रुपैयाँ भुक्तानी लिएको देखिन्छ ।

प्रतिक्रिया दिन मान्दैनन् अध्यक्ष र प्रवक्ता

साढे २ फिट गहिरो खाडल बनाएको अवस्थामा रहेको बैजनाथपुरको रंगशालाको क्रिकेट पीच निर्माणको विषयमा उपभोक्ता समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलन मार्फत प्रष्ट पार्ने भन्दै कोशी अनलाइनलाई जवाफ दिन मानेनन् ।

अनुगमन गर्नुुपर्ने दायित्व रहेको सामाजिक विकास मन्त्रालय पनि गुपचुप बसिरहेको छ । खुलेआम भएको अनियमितता सम्बन्धमा बुझन खोल्दा सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले कार्यालयमा नभएको भन्दै जवाफ दिनबाट पन्छिए । मन्त्रालयमै रहेका उनी कोशी अनलाइनको टोलीलाई देखेपछि बाहिरिएका थिए ।

प्रतिक्रिया 1

प्रतिक्रिया

Loading...