fbpx

ट्रेड युनियन प्रतिबन्ध गर्ने सम्झौता हुँदैन : काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने नियतसंग सम्झौता गर्न नसकिने जनाएको छ । यद्यपी यूनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने काग्रेसको भनाई छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयमा बिहिबार आयोजित समसामयिक विषयको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका र मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री संस्थालाई निरुत्साहित र निषेध गर्ने काम काङ्ग्रेसलाई मान्य नहुने बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयक छलफलका क्रममा छ । छलफलका क्रममा उठेको आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रवक्ता शर्माले बताए ।

काठमाडौँको गोङ्गबु बसपार्कको अनियमितता प्रकरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रवक्ता शर्माले अनुसन्धान गरेर आवश्यक कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

काङ्ग्रेसलाई हेर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिवेदनमा उल्लेखित विवरणबारे प्रवक्ता शर्माले दस्तावेजमा काङ्ग्रेसबारे इमान्दार दृष्टि नरहेको भन्दै दृष्टिदोष रहेको बताए । काङ्ग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको बताए ।

प्रतिक्रिया

Loading...