fbpx

पुरुषको तुलनामा महिलाहरू किन बढी रुन्छन् ?

चिकित्सा क्याम्पस महाराजगंज, काठमाडौंका फिजियोलोजी विभागका विभागीय प्रमुख डा. दिनेश बाँस्तोलाका अनुसार पीडा, दुःख, दुखाइ, आवेश, असफलता, कसैको मृत्यु, पीडा, तिब्र मनस्थिति उन्माद, आध्यात्मिक खुसी र तीब्र तथा लगातार लामो समयको तनावका कारणले मानिस रुने गर्छन् ।

मनोविद् गोपाल ढकालका अनुसार भावना परिवर्तन हुने भएकाले दुःखी हुदा आँसु र खुसी हुदा हाँसो आउने बताउँछन् । पुरुषहरुभन्दा महिलाहरु चार गुणा बढी रुने गर्छन् । चिकित्सकका अनुसार मानिसको दाहिने दिमाग भावनात्मक हुन्छ । फिल्म हेर्दा, कथा पढ्दा, गीत सुन्दा, कसैको याद आउँदा दाहिने दिमाग बढी सक्रिय हुने भएकोले मानिस भावनामा डुबेर रुन्छन् ।

गोपालका अनुसार तुलनात्मक रुपमा पुरुषको भन्दा महिलाको दाहिने दिमाग बढी चल्ने भएकाले, महिलाहरु पुरुष भन्दा धेरै बढी भावनात्मक हुने गर्दा उनीहरु बढी रुने गर्छन् । यसका साथ साथै महिलामा प्रोलेक्टिन नामक दूध उत्पादन गर्ने हर्मोनले पनि रुन प्रेरित गर्ने भएकाले महिलाहरु पुरुषको तुलनामा बढी रुने गर्छन् ।

वंशाणुगत रुपमा महिला र पुरुष फरक हुने हुदा महिला र पुरुषको जिन पनि छुट्टाछुट्टै हुन्छ । उनीहरुको हुर्काई पनि फरक तरिकाले भएको हुन्छ । सामान्यतयाः पुरुषको तुलनामा महिला बढी भावनात्मक हुने त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रोफेसर डा.सरोजप्रसाद ओझाले बताएका छन् ।

भावना धेरै हुने कारणले महिलामा चाँडै आँसु आउने हुदा पनि पुरुषहरुको तुलनामा महिलाहरु बढी रुन्छन् । पुरुषको तुलनामा महिलाको दैनिक भूमिका र जिम्मवारी बढी हुने भएकाले पुरुषभन्दा महिला बढी रुने डा. बाँस्तोलाले बताए । मानिस रुनु मात्र मनको पीडा पोख्ने माध्यम भने हैन । पुरुषले आफ्ना भावना तथा मनका कुराहरुलाई साथीसँग व्यक्त गर्न पाउने, रक्सी खाएर, खेलेर तथा साथीभाइसँग छिट्टै रमाउने भएकाले पनि पुरुष कम रुने चिकित्सकहरुले बताएका छन् ।

हाम्रो समाजमा महिलाहरुले पुरुष जस्तै मनको कुरा पोख्नलाई बाहिर जान नपाउने भएकाले पनि होला महिलाले रोएर आफ्नो मनको पीडालाई शान्त गर्ने हुन्छन् ।

प्रतिक्रिया

Loading...