fbpx

निजामती कर्मचारीहरूको समायोजन, वृत्ति विकास र सपनाहरू

डा. राजेन्द्र उप्रेती

नेपाल सरकारको सेवामा प्रवेस गरेको २८ वर्ष बितेछन् । चाँडै समय बितिगए जस्तो लाग्छ । हिजो–अस्ति जस्तो लाग्छ एस.एल.सी. पास गरेर कृषि पढ्न पक्लिहवा कलेज गएको, तर ३८ वर्ष बितिसकेछन् ।

यो क्रममा हामीले नेपालमा भएगरेका सबैखाले आन्दोलनहरु र परिवर्तनहरु नजिकबाट भोग्दै आयौँ । पढाइको समाप्तिपछि नेपाल सरकारको सेवामा प्रवेश गर्दैगर्दा आफ्नो ब्याचको राम्रो विद्यार्थीमध्येकै भएकोले आफू प्रवेश गरेको सेवाको उच्चतम तहमा पुगेर आफूले सक्ने योगदान गरेर सेवानिवृत्त हुने सपना देखेको थिए मैले पनि । समयचक्रले विभिन्न कालखण्ड पार गराउँदै ल्याउँदा आज मेरा सपनाहरु अन्तै मोडिएका छन् । आज मेरा लागि पदभन्दा प्राप्ति-उपलब्धी ठूलो भएको छ र म त्यसैको लागि प्रयत्न गरिरहेको छु ।

कर्मचारी समायोजन र वृत्ति–विकासको कुरा

ठीक–बेठिक जसरी भएपनि अब बिस्तारै कर्मचारी समायोजन सकिने क्रममा छ । धेरैजसो कर्मचारीहरु आ–आफना ठाँउमा पुग्ने क्रममा छन् । तर, संघमा समायोजन भएका र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका अधिकांश कर्मचारीहरु उत्साहित चै छैनन् । संघमा समायोजन भएकाहरु प्रयाप्त कामबिना बस्नुपर्दा खल्लो महसूस गरिरहेका छन् भने प्रदेश तथा स्थानीय तहमा समायोजन भएकाहरु आफू जुन पदमा समायोजन भइयो, बीसौँ वर्ष त्यहीँ पदमा काम गरेर अवकास हुने भइयो भनेर निराश छन् । यो वास्तविकता हो, त्योमाथि प्राविधिक कर्मचारीहरुको लागि त पदलाई मात्र वृत्ति–विकासको सूचक मान्ने हो भने समायोजनको वर्तमान अवस्था कहाली लाग्दो छ । यस्तो अवस्थामा उनीहरुको उत्साह र सिर्जनशीलता कसरी बढाउने त्यो ठूलो चुनौति भएको छ ।

तर, वृति–विकासको कुरा गर्दा आफूले प्राप्त गर्ने उपलब्धी र आफ्नो पदबाट होइन कामबाट प्राप्त हुने नामको आन्नदलाई सूचकको रुपमा लिने हो भने अहिले हरेक कर्मचारीहरुको वृत्ति–विकासको लागि स्वर्ण अवसर छ भन्दा फरक पर्दैन । यो प्रसंगमा म नेपाल सरकारका निर्वत्त सचिव भोजराज पोखरेललाई सम्झन चाहान्छु । उनी विभिन्न मन्त्रालयको सचिव हुँदै प्रमुख निर्वाचन आयुक्त भएर समय बाँकी रहँदै त्यो संवैैधानिक निकायको प्रमुख पद छोडेर आफूले लक्षित गरेको विश्वविद्यालयको विद्यार्थी हुन हिँडे । त्यसपछिको उनको जीवन र उपलब्धिहरु जो सुकैका लागि लोभ लाग्दो छन् ।

सायद उनले पदलाई मुख्य उपलब्धि मानेर आफ्नो कामलाई कम महत्व दिएका भए अरु धेरै सेवा निवृत्त सचिवहरु जस्तै कतै गुमनाम जिन्दगी बाँच्दै हुन्थे होलान् । त्यस्तै प्रेम सन्जेल आज भ्रष्टाचार र बेथितीविरुद्ध लडने एउटा प्रतिकात्मक नाम बनेको छ । उनलाई कज्याउन खोज्नेहरु पद खुस्किएका भोलिपल्ट कतै गुमनाम होलान् तर प्रेम सन्जेललाई धेरै दिनहरुसम्म मानिसहरुले याद गर्नेछन् । त्यसैले वृत्ति–विकासलाई पदसँग होइन आफूले गर्न सक्ने उपलब्धीहरुसँग जोडौंँ । यसबाट अहिले कर्मचारीहरुमा देखिएका कुन्ठा र निरासाहरु कम हुँदै जानेछन् ।

निजामती कर्मचारी र उसको भूमिका

निजामती कर्मचारीलाई राष्ट्रसेवक पनि भनिन्छ । यो कोणबाट हेर्दा निजामती कर्मचारीहरुका केही मुख्य भूमिकाहरु हुन्छन् । उनीहरु स्थायी सरकार हुन् र सरकारको काम भनेको आफ्ना नागरिकहरुलाई सर्बसुलभ सेवादिने र उनीहरुले इच्छाएको समृद्धिको सपनाहरु पूरागर्न आफूसँग उपलब्ध श्रोतसाधनको अधिकतम सदुपयोग गर्दै सहजिकरण र समन्वय गर्ने हो । यसरी हेर्दा एउटा निजामती कर्मचारी आफ्नो भूमिकासँगसम्बन्धी अवसरहरुको खोजिकर्ता र ति अवसरहरुबाट उपलब्धी हासिल गर्ने कामको लागि सहजकर्ता पनि हो । त्यसैले ऊ श्रृजनशील हुनुपर्छ, सहकार्यहरुको लागि समन्वयकारी हुनुपर्छ अनि राज्यले उपलब्ध गराउने श्रोत साधन परिचालनको केन्द्रीय भूमिकामा रहने हुँदा रुपान्तरणका अभियानहरुको नेतृत्व गर्न अग्रसर पनि हुनुपर्छ ।

निजामती कर्मचारी राज्यको कानून कार्यान्वयन गर्ने माध्यम पनि हो । कानून कार्यान्वयन गर्दा उसका कामहरु नागरिकहरुको हित र समृद्धिमा केन्द्रित हुनुपर्छ । प्रेम सन्जेलको उदाहरण यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । उनले राज्यले निर्धारण गरेको कानूनको कार्यान्वयन गर्ने प्रयास गरे जसबाट विभिन्न व्यक्ति–संस्थाहरुको हालिमुहालीमा बाधा भयो होला र उनीहरु सबै एकतृत भएर उनीमाथि खनिए । सास्ती धेरैले भोगे होला तर राज्यको कानून बलियाहरुको स्वार्थ पूर्तिको लागि हुनेरहेछ र शक्तिहीनहरु र निर्धाहरु सधैँ बलियाहरुबाट शोषित र प्रताडित हुने रहेछन भन्ने दृष्टान्त पनि स्थापित भयो ।

यहाँ प्रेम सन्जेल पुरस्कृत हुनुपर्थ्यो, बल्ल अरु धेरैले राज्यले निर्धारण गरेको कानून कार्यान्वयनमा अग्रसरता देखाउँथे । त्यो नभएकोले यहाँ धेरैले चुपचाप बस्नु आफ्नो भलाइ ठाने होलान् । आफ्नो माथिल्लो निकायको को विभाजनमा पर्न को पोचाहान्छ र ? यदि, राज्यको कानून नागरिकमैत्री छैन भने त्यो बदल्नुपर्छ । तर, त्यसैको आडमा आफनो स्वार्थपूर्ति गर्ने अभिलाषा राख्नु राज्यको कर्मचारी तन्त्रप्रति नागरिकहरुको बितृष्णा बढाउँदै लानु मात्र हो ।

अगाडीका हाम्रा बाटाहरु

निराशाको कालो बादल र अन्यौलबाट श्रृजित आलस्यले गाँजेको छ, वर्तमानको कर्मचारी तन्त्र । गुम्सिँदै, दिग्दारिँदै दिनहरु काटिरहेका छन्, अधिकांश कर्मचारीहरु । हरेक कालो बादलको किनारामा चाँदीको घेरा भएजस्तै अवसरहरु सकिएका छैनन् । तर, सफल कर्मचारी हुनका लागि हामीले हाम्रा लक्ष्यहरु, उद्देश्यहरु र प्राथमिकताहरु बदल्नु परेको छ । हामी पदभन्दा आफ्नो काम र त्यसबाट ल्याउन सकिने उपलब्धीहरुमा केन्द्रित भयौँ भने हामीले प्राप्त गर्न सक्ने वृत्ति–विकास, आन्नदहरु पद केन्द्रित वृत्ति–विकासभन्दा धेरैधेर हुनेछन् । ठूलापदमा पुगेका धेरैजसो मानिसहरुले पदहरु सकिएको छोटो समयमा मृत्युवरण गर्छन रे । पद खुस्किएपछि पदलाई नै मुख्य प्राप्ति मानेर जुनसुकै प्रकारले त्यो हत्याउन लागिपर्नेहरुका लागि आफूले विगतमा गरेका जायज नाजायज कामको पश्चाताप गर्ने बाहेक केही पनि बाँकी रहँदैन । सामाजिक मर्यादा उनीहरुको पद सकिएकै दिन ओरालो लागि सकेको हुन्छ ।

त्यसैले पद प्राप्तिलाई आफ्नो प्राथमिकताको दोश्रो तहमा राखेर आफूले गर्न सक्ने काम र दिनसक्ने उपलब्धीलाई पहिलो प्राथमिकतामा राखौँ । कामले नाम दिन्छ अनि हाम्रो काम जति ठूलो हुँदै जान्छ त्यतिनै त्यसले वास्तविक वृत्ति–विकास बढाउँदै लान्छ । त्यसकारण कुन्ठा र निराशा त्यागेर आफ्नो क्षमताको पहिचान गरेर त्यसको प्रस्फुटन गरौँ । संकट र बिग्रहमै हाम्रो वास्तविक क्षमताको पहिचान हुन्छ । यो अवसर हामीलाई आएकोछ यसको सदुपयोग गरौँ ।

राज्यको दायित्त्व

राज्य अन्यायी हुनु हुँदैन । अन्याय गरेर रमाउने संसारका धेरै शक्तिशाली राज्यहरु र साशकहरु इतिहासको पानामा सीमित भएका छन् या भनौँ एकादेशका दन्त्यकथा भएका छन् । यसबाट उच्चतहका कर्मचारीहरु तथा साशकहरुले पाठ सिक्नुपर्छ । मैले माथिनै उल्लेख गरेजस्तै हरेक निजामती कर्मचारीहरु सेवाप्रवेश गर्दा एउटा सपना बोकेर, उत्साहसाथ विभिन्न संगठनहरुमा समाहित भएका हुन्छन् । उनीहरु राज्य सबैको लागि बराबर हुन्छ र यसले सबैमा न्याय गर्छ भन्ने धारणा राखेका हुन्छन् । तर, जब राज्य संयन्त्रनै जानेर वा नजानेर आफ्नै कर्मचारीहरुमा कोही काखा कोही पाखा गर्न थाल्छ तब राज्यको स्थायी सरकार कुण्ठा, निराशा र बितृष्णाबाट ग्रसित भइ आफैँ कोमा माजान बेर लाउँदैन । त्यसैले अहिले भए गरेका कमी–कमजोरी सच्याउँदै सबैलाई समन्याय अनुभूत गराउने दायित्व राज्यको हो ।

अन्त्यमा

हामीलाई संघीयता, राजनीतिक परिवर्तन र कर्मचारीतन्त्रको संगठानिक परिवर्तनले उकुसमुकुस हुने वातावरणसँगै राज्यमा सकारात्मक रुपान्तरणको लागि भूमिका खेल्ने अवसर पनि दिएको छ । आफूमा भएको ज्ञान, सीप र उर्जालाई श्रृजनशील बनाउँदै नयाँउपलब्धीको लागि सदुपयोग गरौँ । राज्यले गरेको विभेदका विरुद्ध आवाज उठाउँदै आफूलाई उत्पादनशील बनाऔं । हाम्रो काम र हामीले प्राप्त गर्ने उपलब्धीले हाम्रो वास्तविक वृति–विकासको बाटो खोल्नेछ । संसारभरि रुपान्तरणका अभियानहरु हेपिएका, सताइएकाहरुले नै चलाएका छन् विकासका प्राप्तीहरु उनीहरुले नै गरेका छन् । सकारात्मक बनौँ, अझ धेरै उर्जावान बनौँ, यो हेपिएकाहरुको लागि अवसर हो किनकी हामी सर्वसाधारण नागरिकहरुको सबैभन्दा नजिक छौँ ।

(लेखकः भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १, विराटनगरका महाशाखा प्रमुख हुन्)

प्रतिक्रिया

17 + 18 =

Loading...