fbpx

निद्रा नपुगेमा आउन सक्छ आत्महत्याको विचार

निन्द्रा हाम्रो शरीरमा फुर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहिलाई पनि मीठो निद्रा चाहिने हुन्छ । हाम्रो ब्यस्त जीवनमा हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । समयमा सुतेर उठ्दा दिनभरि शरीर स्वास्थ्य रहनुका साथै हाम्रो मस्तिष्कले पनि सही तरिकाले काम गर्ने गर्छ । विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुने देखिन्छ ।

धेरै जसो व्यक्तिहरुलाई निराश अथवा तनाव भएको बेलामा निन्द्रा लाग्दैन । तर, मानिस निराश तथा निकै तनावमा भएको बेलामा राम्रो निन्द्रा लिनु निकै आवश्यक देखिन्छ । म्यानचेस्टर विश्वविद्यालयले गरेको एक अनुुसन्धानका अनुसार यस्तो समयमा पर्याप्त निद्रा नपुग्दा व्यक्तिमा आत्महत्याको विचार समेत आउन सक्ने कुरा पत्ता लगाएको छ ।

बेलायतमा गरिएको अनुुसन्धानका क्रममा अनुुसन्धानकर्ता डोना लिटलवूडले करीब ५१ मानिसहरुसँग कुराकानी गरेकी थिइन् । उनीहरूसंग कुरा गर्ने क्रममा धेरै जनाले बारम्बार आत्महत्याको कुरा गरेको पाइयो । कुराहरु गर्दै गर्ने क्रममा धेरै जसो व्यक्तिलाई राति एकदमै कम निद्रा लाग्ने गरेको पाइयो । जहिले जहिले राम्रो निद्रा नलाग्दा केही न केही सोचेर बसिरहेका कारणले मानसिक चोट पुगेका क्षणहरू याद आइरहने हुदा रहेछन् ।

बैज्ञानिकहरुले गरेको विभिन्न अनुसन्धानले पुरुषभन्दा महिलामा बढी फ्रस्टेसन हुने देखाएको छ । विशेषगरी १५ वर्ष देखि ४५ वर्ष उमेर समूहका महिलाहरु फ्रस्टेसनबाट पीडित हुने गरेको छ । जसमध्येका १५ देखि २० प्रतिशत मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । हामीले यस्ता समस्याबाट छुटकारा पाउनका लागि समयमा पौष्टिक खाना खाने, पूरा निद्रा सुत्ने, समय समयमा नयाँ ठाउं घुम्न जाने, योगा गर्ने, आफुलाई मनपर्ने कुराहरुमा व्यस्त राख्ने गर्नु पर्छ ।

विगतका कुरालाई सम्झेर दुःखी हुनु भन्दा पनि सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्ने गर्नु पर्छ । यति गर्दा पनि मन शान्त नभएको खण्डमा चिकित्सककोमा जानु पर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ । निराशा र तनाव मात्र नभई निद्राले शरीरका धेरैजसो रोगहरुबाट छुटकारा दिलाउन मद्दत गर्दछ । निद्रा नलाग्ने कारणले गर्दा नै विभिन्न स्वास्थ्य समस्या, आँखामा कालो घेरा, छाला र पेट सम्बन्धि रोगहरु समेत देखा पर्न थाल्छ ।

प्रतिक्रिया

Loading...